काठमाडौं । २०७९ सालमा उद्योग-व्यवसायको क्षेत्रमा आशासँगै निराशा पनि देखियो । यद्यपि केही सकारात्मक काम पनि भए । नेपालका कम्पनीहरूले भारतमा सिमेन्ट निर्यात शुरू हुनु गत वर्ष उद्योगको क्षेत्रमा हासिल भएको महत्त्वपूर्ण उपलब्धि थियो ।
उद्योगको क्षेत्रमा केही निराशा पनि देखियो । अटोमोबाइल क्षेत्रमा सुस्ती, निर्माण उद्योगमाथि संकट यसका उदाहरण हुन् । गत वर्ष उद्योग-व्यवसाय क्षेत्रमा यी घटनाक्रम भए ।
भारतमा सिमेन्ट निर्यात शुरू
नेपालका कम्पनीहरूले उत्पादन गरेको सिमेन्ट भारतमा निर्यात शुरू भयो । सरकारले निर्यातमा अनुदान दिने घोषणा गरेपछि व्यवसायीले भारतमा सिमेन्ट निर्यात थालेका हुन् । निर्यातका लागि कतिपय कम्पनी भारतीय गुणस्तर चिह्नको पर्खाइमा छन् भने केहीले प्राप्त गरेर निर्यात थालिसकेका छन् । पाल्पा र अर्घाखाँची सिमेन्टले भारतमा निर्यात गरिरहेका छन् ।
स्टार्टअप कर्जा दिने निर्णय
सरकारले स्टार्टअप व्यवसायलाई विनाधितो कर्जा उपलब्ध गराउने निर्णय गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको स्टार्टअप कर्जा कार्यविधिअनुसार १४ प्रकारका उद्यमलाई सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने निर्णय गरिएको हो । एक स्टार्टअप उद्यमीले बढीमा २५ लाखसम्म कर्जा पाउनेछन् ।
अटोमोबाइल क्षेत्रमा सुस्ती
वर्षको शुरुआतदेखि नै अटोमोबाइल क्षेत्रमा सुस्ती देखियो । गत वैशाखमा नेपाल राष्ट्र बैंकले अटो कर्जा जोखिम भार ७५ बाट बढाएर १५० प्रतिशत पुर्याउने र कर्जा सीमा ५० प्रतिशत तोक्ने कदम चालेपछि यो क्षेत्र प्रभावित भयो । बजेटमार्फत विलासिताका वस्तुमा प्रतिबन्ध लागेपछि अटोमोबाइल्स क्षेत्र धराशयी बन्न पुग्यो ।
संसद् भवनकै अगाडि आत्मदाह
आर्थिक संकटले जेलिएपछि युवा व्यवसायी पे्रम आचार्यले मुलुकको संघीय संसद् भवन अगाडि नै आत्मदाह गरे । आत्मदाह गर्नुअघि लेखेको सुसाइड नोटमा उनले उल्लेख गरेका ९देशमा व्यावसायिक वातावरण नभएको, सरकार युवाप्रति अनुदार बनेको भन्ने जस्ता० विषयले देश नै तरंगित बन्यो ।
निर्माण उद्योगमाथि संकट
निर्माण उद्योग संकटको अवस्थामा रहे । सरकारी एवं निजी निर्माणका कार्य अति सुस्त बन्दा स्टील तथा सिमेन्ट उद्योगको अवस्था जटिल बन्यो ।
एकै वर्ष तीन वाणिज्यमन्त्री
अस्थिर सरकारको क्रम जारी रहँदा एकै वर्ष तीनजना उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बने । पटक पटक मन्त्री परिवर्तन हुँदा उद्योग वाणिज्य क्षेत्रका समस्या समाधानमा ठोस पहल हुन सकेन ।
महासंघमा नयाँ नेतृत्व
मुलुकका उद्योगी व्यवसायीको ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व आयो । निवर्तमान अध्यक्ष शेखर गोल्छाको कार्यकाल सकिएपछि चन्द्र ढकालले नेतृत्व सम्हालेका छन् । त्यस्तै पछिल्लो कार्यकालको नेतृत्व गर्ने वरिष्ठ उपाध्यक्ष पदमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन् ।