काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज २५ गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको थप सार्वजनिक निष्कासन (एफपीओ) खरीद गर्ने आज अन्तिम दिन रहेको छ ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न कम्पनीले एफपीओ जारी गरेको हो । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छिटो अवधि असोज ३० गतेसम्म मात्र एफपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको १ लाख २३ हजार ८१६ दशमलव ४५ कित्ता एफपीओ निष्कासन गरेको हो । कम्पनीको एफपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपालले वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम ईक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ ।
कम्पनीको एफपीओ निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।
हाल कम्पनीको चुक्ता पूँजी ६६ करोड ५७ लाख ६४ हजार छ । संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व छ ।