बाढीपहिराको उच्च जोखिममा रहेको सिन्धुपाल्चोकमा साउन यता मात्रै ७८ भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । कयौँ मानिस घरबारविहीन बनेका छन् । पहिराकै कारण बजार क्षेत्रको बस्ती नै जोखिममा परेपछि पाँच पोखरी थाङपाल–८ तिपेनीका स्थानीय सुरक्षित स्थान र सहाराको पर्खाइमा छन् । टेण्टभन्दा अरु केही नभएकाले सुरक्षित बास नहुँदा रातभर अनिदो बस्नु परेको तिपेनीका चन्द्रकुमारी श्रेष्ठको गुनासो छ । उहाँ जस्तै तिपेनीका १९ घर परिवार अहिले पालमुनी रात बिताउन बाध्य छन् । साउन १८ गते आएको पहिराले घर पुरिएका छन् भने पाँचपोखरी पर्यटन मार्गको मुख्य सडक अबरुद्ध छ । दुई सय मिटर भन्दा माथिबाट खसेको पहिराका कारण बिस्थापित बनेका अर्का स्थानीय बलराम धितालले सुरक्षित ठाउँमा स्थानान्तरणको माग गर्नुभयो ।