खानेतेलको अभाव हुन नदिन निकासी रोक्न माग

विराटनगर (अस) । युक्रेन संकटका कारण खाद्यान्न लगायतको कच्चा पदार्थको आयातमा समस्या भएपछि तयारी वस्तुको निकासीमा सरकारले नियन्त्रण गर्नुपर्ने उपभोक्तावादी संघसंस्थाले माग गरेका छन् । युक्रेनबाट नेपालमा तोरीको दाना, भटमास, सूर्यमुखी तेलको क्रुड, गहँु, केराउ लगायत खाद्यवस्तु आयात हँुदै आएको छ । तर रसियाले युक्रेनमा आक्रमण थालेपछि सबै मालवस्तुको अर्डर रद्द भएको छ । आपूर्ति प्रभावित हुँदा नेपाली बजारमा माग बमोजिमको वस्तु उपलब्धतामा समस्या हुने भन्दै उपभोक्तावादी संस्थाहरूले सरकारले उद्योगी र व्यापारीसँग तत्काल समन्वय गरेर अभाव हुन नदिन र मूल्यवृद्धि नियन्त्रण गर्न करका दर हेरफेर गर्न समेत माग गरेका छन् । पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले आम उपभोक्ताले सुपथ मूल्यमा सुलभ तरिकाले खाद्यान्न लगायत उपभोग्य वस्तु खरीद गर्ने वातावरण बनाउन यस्ता वस्तुको मौज्दात बढाउने र निकासी रोक्ने कदम चाल्नुपर्ने बताए । ‘युक्रेनमा रूसको आक्रमण भएलगत्तै खानेतेलमा मूल्यवृद्धि गरिएको छ, जसको असर दुई महीनापछि मात्र देखिनुपर्नेमा अहिले नै देखिएको छ,’ उनले भने, ‘त्यसैले बढेर आएको मालवस्तुको मात्र मूल्यवृद्धि हुनेगरी सरकारले नियमनको व्यवस्था मिलाउनुपर्छ । युक्रेन–रसियाको द्वन्द्वको कारण नेपालमा उत्पन्न हुन सक्ने तेलको अभाव टार्न यसको निकासीमा नियन्त्रण गर्नुपर्छ ।’ उपभोक्ता जागरण अभियान, नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारीले सरकारको गैरजिम्मेवारले उद्योगी व्यवसायीको मनोमानी बढेको बताए । डलरसँग नेपाली मुद्राको अवमूल्यन र पेट्रोलियमको मूल्यवृद्धिले चौतर्फी असर गरेको, तर सरकार मूल्यवृद्धि नियन्त्रणमा मौन रहँदा आम उपभोक्ता मारमा परेको उनको भनाइ छ । विराटनगर भन्सार कार्यालयका प्रवक्ता रामचन्द्र ढुंगानाका अनुसार साउनदेखि फागुन २२ गतेसम्ममा १२ अर्ब ३४ करोड ५५ लाख रुपैयाँ बराबरको पाम, भटमास र सूर्यमुखी तेलको निकासी भएको छ । गत आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा ६ अर्ब ४३ करोड ७४ लाख ८५ हजार बराबरको प्रशोधित खानेतेलको निकासी भएको थियो । विराटनगर भन्सार प्रमुख ताराप्रसाद सापकोटाले राज्यका कुनै पनि निकायबाट तेलको निकासी रोक्ने सम्बन्धमा आफूलाई जानकारी नआएको बताए । अहिले सामान्य अवस्थामै प्रशोधित तेलको निकासी भइरहेको उनको भनाइ छ । निकासीका लागि उत्पत्तिको प्रमाणपत्र जारी गर्ने मोरङ व्यापार संघ र  उद्योग संगठन मोरङको तथ्यांक अनुसार चालू आर्थिक वर्षको यो अवधिमा जोगवनी नाकाबाट १२ अर्ब ३६ करोड ३७ लाख रुपैयाँ बराबरको प्रशोधित तेल निकासी भएको छ । भारतमा प्रशोधित तेलको माग बढेकाले गतवर्षदेखि नेपालबाट निकासी बढेको हो । सम्बद्ध उद्योगीका अनुसार अहिलेकै अवस्था कायम रहे असारसम्ममा २० अर्ब मूल्य बराबरको प्रशोधित तेल निकासी गर्ने लक्ष्य छ ।