नयाँ वर्षमा पनि पर्यटक नआउँदा व्यवसायी निराश

चितवन । गतवर्ष कोरोनाका कारण पर्यटन क्षेत्र पूर्णरूपमा बन्द भए पनि यो नयाँ वर्षमा पर्यटक आगमन बढ्ने अपेक्षा गरेका चितवनका पर्यटन व्यवसायी निराश बनेका छन् । अंग्रेजी नयाँ वर्षमा जस्तै नेपाली नयाँ वर्षमा पनि पर्यटक आगमन उत्साहप्रद हुने आशा गरेका व्यवसायी पर्यटक नआउँदा निराश बनेका बनेका हुन् । केही समय अघिसम्म गति लिन लिन थालेको जिल्लाको पर्यटन व्यवसाय कोरोनाको दोस्रो लहर शुरू भएसँगै पुनः सुस्ताएको छ । होटलहरूमा यसअघि नै भएका बुकिङ समेत कोरोना त्रासकै कारण रद्द भएको व्यवसायीले बताएका छन् । जिल्लाका सौराहा, पटिहानी र मेघौली लगायत प्रमुख पर्यटकीय क्षेत्रमा अंग्रेजी नयाँ वर्षमा उत्साहप्रद रूपमा भएको पर्यटक आगमन नेपाली नयाँ वर्षमा निकै घट्यो । भरतपुर महानगरपालिका–२२ को कसरा रिसोर्टका जनसम्पर्क अधिकृत सागर पौडेलले नयाँ वर्षमा पर्यटक आगमन शून्यप्रायः रहेको बताए । ‘गतवर्षलाई छाडेर अघिल्ला वर्षहरूमा एक हप्ताअघिखि नै सबै रूम बुकिङ भइसक्थे, सेवा दिन भ्याइनभ्याइ हुन्थ्यो,’ उनले भने, ‘अहिलेको नेपाली नयाँ वर्षमा पहिले नै भएका बुकिङ समेत क्यान्सिल भए ।’ केही दिन अघिसम्म राम्रै चहलपहल देखिन थालेको पर्यटन व्यवसाय कोरोना संक्रमण र मृत्युदर बढेसँगै प्रभावित बन्न पुगेको हो । नारायणगढ र रत्ननगरमा होटल सञ्चालन गर्दै आएका नेपाल पर्यटन व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुके पछिल्लो हप्ता पर्यटकीय चहलपहल घट्न थालेको बताउँछन् । ‘एक त सरकारले कोरोनाविरुद्ध सचेतना अपनाउन अनुरोध गरेको छ,’ उनले भने, ‘अर्कोतिर यही त्रासका कारण मानिस बाहिर निस्कन कम गर्न थाले ।’ अघिल्ला वर्षहरूमा चितवनमा काठमाडौं, पोखरा लगायत शहरबाट उल्लेख्य आन्तरिक पर्यटक आए पनि यसपटक ती ठाउँबाट नआएको उनले बताए । उनका अनुसार राति ९ बजे होटल, रेष्टुराँ बन्द हुने भन्ने हल्लाका कारण पनि पर्यटक होटल÷रेष्टुराँमा निकै कम आएका हुन् । यतिबेला चितवनको प्रमुख पर्यटकीय स्थल सौराहा सुनसान जस्तै देखिएको छ । नयाँ वर्षको अघिल्लो दिनको रात केही रेष्टुराँ र पबहरूमा आन्तरिक पर्यटकको उपस्थिति बाक्लै देखिए पनि होटलमा भने पर्यटकको न्यून उपस्थिति थियो । जंगल सफारी लज सौराहाका निर्देशक सुमन घिमिरेले नयाँ वर्षको अघिल्लो दिनदेखि पर्यटक आए पनि अधिकांश पर्यटक स्थानीय भएकाले व्यवसाय खासै नभएको बताए । ‘यो नयाँ वर्षमा अन्य जिल्लाका पर्यटक आउन सकेनन् । बाह्य पर्यटक पनि शून्य बराबर नै छ,’ उनले भने । खर्च गर्ने पर्यटक नहुँदा आगमन बाक्लो भए पनि यसले व्यवसाय बढ्न नसक्ने उनको भनाइ छ । ‘अघिल्ला वर्षहरूमा नयाँ वर्ष आउन १ महीना अघिदेखि नै रूमहरू प्याक हुन्थ्यो, हात्ती सफारी, जीप सफारीका लागि पनि भरिभराउ हुन्थे,’ उनले भने, ‘यसपालि त्यस्तो माहोल बन्न सकेन,’ क्षत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले भने । ६ महीना अघिदेखि नै पर्यटन व्यवसाय पूर्णरूपमा खुलेर सेवा दिँदै आए पनि हालसम्म नोक्सान बेहोर्नुपरेको भन्दै भट्टराईले  बाह्य पर्यटक नआएसम्म व्यवसाय नउकासिने बताए । यस्तै अवस्था रहे पर्यटन व्यवसाय पुनः बन्द गर्नुपर्ने अवस्था आउन सक्ने व्यवसायीको अनुमान छ ।

सम्बन्धित सामग्री

नयाँ वर्षमा पनि सुनसान नाढीमन तर गुल्जार छ भरत ताल

सर्लाहीमा रहेका दुई ताल अहिले चर्चामा छन्। सर्लाहीको पुरानै तालको रुपमा रहेको नाढीमन ताल विशाल भएर पनि खासै पर्यटक नआउँदा उदास छ भने भरत तालमा बिहानैदेखि पर्यटकको चाँप छ।

कोरोनाका कारण चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक आधा घटे

साउन ७, चितवन । कोरोना कारण चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटक आधा घटेका छन् ।  निकुञ्ज, कार्यालयले दिएको तथ्यांक अनुसार अघिल्लो आव ०७६/०७७ मा कुल १ लाख ८२ हजार ४३५ जनाले निकुञ्ज घुमेकोमा गत आव ०७७/०७८ मा यो संख्या घटेर ९२ हजार २०९ मा झरेको हो । अघिल्लो आवको तुलनामा गत आवमा उक्त संख्यामा पर्यटक घटेका हुन् । कार्यालयका अनुसार अघिल्लो आवमा ८९ हजार ४४१ जना आन्तरिक पर्यटकले निकुञ्ज घुमेका थिए । यस्तै उक्त वर्षमा सार्क राष्ट्रका  १४ हजार २३९ र अन्य मुलुकका ७८ हजार ७५५ जना पर्यटकले  निकुञ्ज घुमेका थिए ।  तर, गत आवमा ८९ हजार ६०१ नेपाली पर्यटकले निकुञ्ज घुमेका थिए भने सार्क राष्ट्रका १ हजार ३६४ पर्यटक र अन्य मुलुकका १ हजार २४४ जनाले निकुञ्ज घुमेको तथ्यांक छ ।  निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले अघिल्लो वर्षबाट फैलिएको कोरोनाका असर हालसम्म रहेको र दोस्रो कोरोनाको लहर हालसम्म पनि नरोकिएकाले पर्यटकको संख्यामा कमी आएको बताए । ‘अघिल्लो वर्ष सिजनमा आउने पर्यटक आइहाले र लकडाउन भयो, उनले भने, अहिले पनि वैशाख दोस्रो हप्ताबाट निषेधाज्ञा चलिरहेको छ ।’ विशेषगरी सिजनमै निषेधाज्ञा भएको र पर्यटकलाई  निकुञ्ज प्रवेशमा रोक लगाइएकोले पर्यटकको संख्या कमी भएको अधिकारीको भनाइ छ । ‘एक त बाहिरबाट पर्यटक आउन पाएनन्, उनले भने, आन्तरिक पर्यटकको लागि पनि निकुञ्ज खुल्ला हुन पाएन ।’  लकडाउन कारण अघिल्लो वर्ष चैतदेखि साउनसम्म निकुञ्ज प्रवेशमा रोक लगाईएको थियो भने गत वैशाखदेखि पुनः निषेधाज्ञाका कारण हालसम्म पनि निकुञ्ज प्रवेश बन्द भएको छ ।  आम्दानीमा भारी गिरावट अघिल्लो वर्ष निकुञ्ज घुम्ने पर्यटकको शुल्कबाट १८ करोड ७३ लाख ८५ हजार ६४ रुपैयाँ आम्दानी गरेको निकुञ्जले गत आवमा पर्यटक शुल्क  आम्दानी घटेर २ करोड ५५ लाख ३७ हजार ८२८ रुपैयाँ संकलन भएको छ ।  निकुञ्जले अन्य क्षेत्रबाट पनि आम्दानी गर्ने गरेको छ । ती क्षेत्रबाट अघिल्लो आर्थिक वर्षमा १ करोड १८ लाख ७० हजार ६१७ रुपैयाँ राजस्व संकलन गरेको थियो भने गत आवमा यी क्षेत्रको आम्दानी केही बढेको छ । जस अनुसार ती क्षेत्रबाट  १ करोड ८८ लाख २४ हजार ३३८ रुपैयाँ आम्दानी गरेको छ ।  सूचना अधिकारी सहायक संरक्षण अधिकृत अधिकारीले निकुञ्जको मुख्य आम्दानीको स्रोत नै पर्यटक शुल्क भएकोले पर्यटक नआउँदा र निषेधाज्ञाका कारण आम्दानीमा ठूलो असर परेको बताए । ‘हाम्रो मुख्य आम्दानीको स्रोत पर्यटकनै हुन्, त्यसमध्ये पनि विदेशी पर्यटक उनले भने, अन्य निकुञ्जको आम्दानी भनेको नदीजन्य पदार्थ उत्खनन शुल्क, ठेक्कापट्टा, दण्ड जरीवाना हुन् ।’