नेपाललाई वर्षौंदेखि कृषि प्रधान देश भन्ने गरिन्छ । तर, कृषिमै आत्मनिर्भर हुन सकेको छैन । पछिल्ला दिनमा परनिर्भरता झन् बढ्दो छ । त्यसैले कृषिमा निर्भर ठूलो जनसंख्या अन्य क्षेत्रमा लाग्दै गर्दा कृषिलाई प्रविधिसँग जोड्नुपर्ने बाध्यता बढ्दो छ । यसै पनि परम्परागत खेती प्रणालीमा सुधार नगरे नेपालले खाद्यान्न आयात बढाउनुपर्ने अवस्था देखिँदै छ । कृषिका लागि श्रमको अभाव हुन थालिसकेको छ । यस्तोमा कृषिलाई आधुनिकीकरण र यन्त्रीकरण गर्दै सूचनाप्रविधिसँग जोड्नुपर्ने आवश्यकता छ । यसै क्रममा कृत्रिम बौद्धिकतामा आधारित साथी नामको मोबाइल एप विकास गरिएको छ जसले कृषिलाई प्रविधिसँग जोड्न सक्छ । इम्प्याक्टर्स महिला विकास समाज काठमाडौंका १६ युवा इन्जिनीयर महिलाको समूहले यो एप बनाएको हो । यसले माटोको गुणस्तर तथा बालीनालीको स्वास्थ्य परीक्षणका लागि प्रयोगशाला धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै स्थलगत रूपमै तत्कालै जानकारी दिनेछ । त्यस्तै एपको सहायताले २६ किसिमको रोग पहिचान गर्ने उक्त डिभाइसले कुन खेतबारीमा कस्तो बाली लगाउँदा राम्रो हुन्छ भन्नेसमेत जानकारी दिने बताइएको छ । माटोको समस्या थाहा पाएपछि त्यसको उपचार सहज हुने हुँदा यसबाट किसानहरू लाभान्वित हुने देखिन्छ ।
कृषि उपजमा करको व्यवस्था, भण्डारणको उचित व्यवस्था, करार खेती, जस्ता कुरालाई सही ढंगले कार्यान्वयनमा लैजान सके तथा सूचनाप्रविधिसँग जोड्न सके कृषिप्रति आकर्षण बढ्नुका साथै उत्पादन र उत्पादकत्वसमेत वृद्धि भई समृद्ध नेपालका लागि सहयोग मिल्नेछ ।
कृषिलाई प्रविधिसँग जोड्नका लागि यो एउटा महत्त्वपूर्ण उपलब्धि हो । तर, यसको उपयोग कत्तिको हुन्छ र कत्तिको किसानमैत्री छ भन्ने कुरा चाहिँ किसानले प्रयोग गरेपछि मात्रै थाहा हुन्छ । कृषिलाई सञ्चार प्रविधिसँग जोड्न स्मार्ट कृषि कार्यक्रम पनि ल्याएको पाइन्छ । माटो परीक्षणका लागि बंगलादेशी प्रविधि पनि भिœयाइएको थियो । त्यस्तै बजारको जानकारी दिने एप बनाउनुका साथै किसानहरूलाई मोबाइल दिने र कृषि बजार, मूल्य, मौसम आदिको जानकारीसमेत दिने व्यवस्था मिलाउने घोषित कार्यक्रम नै रहेको छ । तर, यी सबै कार्यान्वयनमा आएका छैनन्, आएका कार्यक्रम पनि प्रभावकारी कार्यान्वयन भएको पाइँदैन । साथी एप पनि यस्तै परीक्षण र चर्चाको विषयमात्रै बनेन भने कृषिमा केही योगदान दिने विश्वास गर्न सकिन्छ ।
जबसम्म कृषिमा यन्त्र र प्रविधिको प्रयोग व्यापक हुँदैन तबसम्म शिक्षित वर्गलाई यसमा आकर्षित गर्न सकिँदैन । खेतीलाई दु:खी पेसा मान्ने सोचमा परिवर्तन ल्याउन पनि यसमा व्यापक परिवर्तनको आवश्यकता छ । कृषि प्रविधिको अध्ययन, अनुसन्धान तथा विकासका लागि सरकारले पर्याप्त लगानी गर्नुपर्ने देखिन्छ । तर, सरकारले यस्तो शीर्षकमा गर्ने खर्च निकै कम छ र विनियोजित बजेट पनि अनुसन्धानका लागि भन्दा पनि यससम्बन्धी कर्मचारीहरूको तलबका लागि बजेट खर्च हुने गरेको छ । कृषि अनुसन्धान केन्द्रले गरेका कैयौं अध्ययनलाई व्यवसायसँग जोड्न सकिएको छैन । त्यस्तै पर्याप्त बजेट नहुँदा अनुसन्धान पनि पर्याप्त हुन सकेको छैन । सरकारले कृषिक्षेत्रलाई प्राथमिकता दिएर अनुदानको व्यवस्था गरेको छ । कृषि बीमामा समेत अनुदान दिएको छ । तर, सरकारी अनुदानले कृषिलाई प्रोत्साहन गर्न र आधुनिकीकरणमा योगदान दिन सकेको छैन । केही टाठाबाठाले नक्कली कागजात बनाएर कुम्ल्याएको अवस्थासमेत छ । अत: कृषिलाई यान्त्रीकरण र आधुनिकीकरणका लागि ठोस र व्यावहारिक कार्यक्रम आवश्यक देखिन्छ ।
नेपालको बढ्दो व्यापारघाटामा कृषिको पनि योगदान छ किनभने प्रमुख खाद्यवस्तुहरू आयात गर्नुपर्ने बाध्यता छ । करीब ३ दशकअघि धानचामल निर्यात कम्पनीहरूमार्फत नेपालले धान निर्यात गर्ने गरेको थियो । अहिले ६ महीनाका हाराहारीमा मात्रै नेपालको उब्जनीले धान्न सक्छ भन्ने अर्थशास्त्रीहरूको विश्लेषण पाइन्छ । सरकारी अनुदान र सहयोग बढ्दै जाँदा कृषिमा यो उल्टो यात्रा किन भइरहेको छ भन्ने प्रश्नको सही उत्तर नखोजिएसम्म कृषिको विकास गर्न सकिँदैन ।
नेपाली कृषि उपजले मूल्यमा प्रतिस्पर्धा गर्न नसक्ने तथा बजारीकरणको शक्तिशाली व्यवस्था नभएकाले नै कृषि पेशाप्रति विकर्र्षण भइरहेको छ । कृषि उपजको माग कति छ, कतिले खेती गर्दै छन्, कति उत्पादन हुन्छ र मूल्य कति पाइन्छ भन्ने कुराको पूर्ण जानकारी भएमात्रै कृषिमा युवालाई आकर्षित गर्न सकिन्छ । खेतीपातीका लागि सरकारले गरेको सहयोग किसानका वास्तविक समस्यालाई सम्बोधन गर्ने खालका छैनन् । कृषि उपजमा करको व्यवस्था, भण्डारणको उचित व्यवस्था, करार खेती, जस्ता कुरालाई सही ढंगले कार्यान्वयनमा लैजान सके तथा सूचनाप्रविधिसँग जोड्न सके कृषिप्रति आकर्षण बढ्नुका साथै उत्पादन र उत्पादकत्वसमेत वृद्धि भई समृद्ध नेपालका लागि सहयोग मिल्नेछ ।