माछापुच्छ्रे बैंकका ग्राहकलाई दुई अस्पतालमा छूट

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले चिरायु नेसनल हस्पिटल र भक्तपुर हार्ट एण्ड डायबेटिक सेन्टरको उपचार सेवामा छूट पाउने भएका छन् । यी दुई अस्पतालमा बैंकका ग्राहकलाई छूट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले भक्तपुरस्थित भक्तपुर हार्ट एण्ड डायबेटिक सेन्टरले प्रदान गर्ने मुटु, मधुमेह तथा अन्य रोगको उपचार सुविधा लिँदा १० देखि २० प्रतिशतसम्म छूट पाउनेछन् । यस्तै काठमाडौंको वसुन्धरास्थित चिरायु नेसनल हस्पिटलले प्रदान गर्ने विभिन्न सेवामा ५ देखि १० प्रतिशतसम्म छूट प्राप्त गर्नेछन् । सम्झौताअन्तर्गत भक्तपुर हार्ट एन्ड डायबेटिक सेन्टरले डाक्टर परामर्श, फार्मेसी, प्याथोलोजी ल्याब, ईसीजी, इको, यूएसजी, टीएमटी, डिजिटल एक्स रे, डेन्टल सर्भिस लगायत अन्य सेवाको शुल्कमा उक्त छूट प्रदान गर्नेछ भने चिरायु नेसनल हस्पिटलले प्रदान गर्ने स्वास्थ्य सेवाहरू बेड, एम्बुलेन्स, औषधि तथा डायग्नोस्टिकमा उक्त छूट पाइनेछ । बैंकका ग्राहकहरूले उक्त छूट पाउन बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्यूआर प्रयोग गरी भुक्तानी गरेको हुनुपर्नेछ । यस प्रकारको सम्झौताले ग्राहकलाई सुविधासहित व्यापार, व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा सघाउ पुग्दै आएको बैंकले बताएको छ ।