१० वर्षअघिको आर्थिक अभियानबाट : कंसाकारसहित पाँच जनालाई १५ दिने पूर्जी

नेपाल वायुसेवा निगमका कार्यकारी प्रमुख सुगतरत्न कंसाकारसहित पाँच जनालाई विशेष अदालतले १५ दिनभित्र अदालतमा उपस्थित हुन पूर्जी जारी गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगमका कार्यकारी प्रमुखले फ्रान्सेली जहाज निर्माता कम्पनी एयरबसलाई पठाएको ५ करोड ७३ लाख ७५ हजार रुपैयाँ भ्रष्टाचार भएको आरोपसहित शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले पदको दुरुपयोग गरी एयरबसलाई निगम सञ्चालक समितिको निर्णयअघि नै बैना रकम पठाएको अभियोगमा मुद्दा दायर गरेको हो । यसैबीच नेपाल वायुसेवा निगमका संयुक्त कर्मचारी युनियन समितिले तेह्र दिनदेखि बन्द गरेको निगमको आन्तरिक हवाई उडान सोमवारबाट सुचारु हुने भएको छ । एयर अरेबियालाई काठमाडौं–क्वालालम्पुर–काठमाडौं उडानका लागि दिइएको स्वीकृतिसम्बन्धमा पर्यटन मन्त्रालयले निगमका कर्मचारीसहितको एक उच्चस्तरीय कार्यदल गठन गर्ने जानकारी दिएपछि आन्तरिक उडान खुलाउन कर्मचारी संघ तयार भएको हो । वर्ष ६, अंक ९७, सोमवार, १२ पुस, २०६७