वैशाख १७, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि स्वतन्त्र रुपमा उमेदवारी दिएका उमेदवारहरुलाई शनिवार चुनाव चिन्ह प्रदान गरेको छ ।
यसैक्रममा काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उमेदवारी दिएका बालेन शाहले चुनाव चिन्ह लौरो पाएका छन् । आफूलाई अटेरी उम्मेदवार भनेर चिनाउने काठमाडौंका स्वतन्त्र उम्मेदवार शाह र पोखरा महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार गनेश पौडेललेलाई निर्वाचन अधिकृतको कार्यालयले लौरो चुनाव चिह्न दिएको हो ।
उता भरतपुर महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने चुनाव चिन्ह भुइँकटहर पाएका छन् ।
त्यसैगरी धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बनेका गोपाल हमालले आँप चुनाव चिह्न पाएका छन् । यसैगरी विराटनगर महानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादवले लालटिन चुनाव चिह्न पाएका छन्।
शनिवार देशभर निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई चुनाव चिह्न वितरण गरेको हो । निर्वाचन अधिकृतको कार्यालयले शुक्रवार साँझ प्रकाशित अन्तिम नामावलीअुनसार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको हो ।
यही वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ता गराएर मनोनयन फिर्ता नलिएका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगले बताएको छ । आयोगका अनुसार राष्ट्रिय मान्यता प्राप्त छ ओटा राजनीतिक दलका उम्मेदवारलाई भने मतपत्रको क्रमसङ्ख्या १ देखि ६ सम्म कायम निर्वाचन चिह्न प्रदान गरिने छ ।
मतपत्रमा पहिलो क्रममा नेकपा (एमाले) को ‘सूर्य’, दोस्रोमा नेपाली कांग्रेसको ‘रुख’, तेस्रोमा नेकपा (माओवादी केन्द्र) को ‘गोलाकार हँसिया हथौडा’, चौथोमा जनता समाजवादी पार्टीको ‘छाता’, पाँचौंमा लोकतान्त्रिक समाजवादी पार्टीको ‘साइकल’ र छैठौंमा नेकपा (एकीकृत समावादी)को ‘कलम’ चिह्न रहेको छ ।
यस्तै राष्ट्रिय मान्यता प्राप्त नगरेका तर आयोगमा दर्ता भएका दलका उम्मेवारलाई सम्बन्धित पार्टीको निर्वाचन चिह्न र स्वतन्त्र उम्मेदारलाई मतपत्रमा रहेको चिह्नबाट छान्न लगाइएको छ ।।
यही वैशाख ३० गते हुने निर्वाचनका लागि ९५ हजार २५३ पुरुष र ५७ हजार ९६७ महिला गरी कुल १ लाख ५३ हजार २२० जनाको उम्मेदवारी कायम भएको छ । नगर प्रमुखमा ३ हजार २४९ पुरुष र २६८ महिला गरी ३ हजार ५१७, उपप्रमुखमा ६०७ पुरुष र १ हजार ५६८ महिला गरी २ हजार १७५, गाउँपालिका अध्यक्षमा ३ हजार १४९ पुरुष र १९८ महिला गरी ३ हजार ३९२ तथा उपाध्यक्षमा ६१६ पुरुष र १ हजार ७९१ महिला गरी २ हजार ४०७ जनाको उम्मेदवारी टुङ्गो लागेको छ ।
यसैगरी वडाध्यक्षमा ३४ हजार ३५० पुरुष र एक हजार ५० महिला गरी ३५ हजार ४००, महिला सदस्यमा २६ हजार ५७५, महिला दलित सदस्यमा २३ हजार ९६२ तथा सदस्यमा ५३ हजार २३७ पुरुष र २ हजार ५५८ महिला गरी ५५ हजार ७९५ जनाको उम्मेदवारी कायम भएको आयोगले बताएको छ ।
७५३ ओटा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कुल ३५ हजार २२१ सदस्यका लागि निर्वाचन हुँदैछ ।