सोलु कोरिडोर प्रसारण लाइनको निर्माण कार्य सम्पन्न, एक महीनाभित्रै सञ्चालनमा आउने

पुस १०, काठमाडौं । सोलु कोरिडोर - १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ । प्रसारण लाइनको रुट सार्न माग गर्दै उदयपुरको कटारी नगरपालिका—४ मरुवामा करीब दुई वर्षदेखि भएको अवरोध हटेर टावर खडा गर्ने र तार टाँग्ने काम शनिवार सकिएसँगै आयोजनाको निर्माण सम्पन्न भएको हो । सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बूको तिलासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर र टावरहरुको संख्या ३०२ ओटा छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न समस्या झेल्दै रुग्ण बनेको प्रसारण लाइनको निर्माण सम्पन्न भएकोले अब एक महीनाभित्रमा चार्ज गरी सञ्चालनमा ल्याइने बताए। ‘प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध भयो, अदालतले अन्तरिम आदेश दिंदा पनि काम रोकियो,प्राधिकरण र आयोजनाका कर्मचारीको निरन्तरतको प्रयास र अविचलित खटाइबाट निर्माण सम्पन्न भएको छ,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘प्रसारण लाइन चार्ज भएपछि एकातर्फ अब त्यस क्षेत्रमा निजी क्षेत्रका निर्माणाधीन आयोजनाहरुको विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने छ भने अर्कोतर्फ त्यस क्षेत्रमा विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ साथै विद्युत चुहावट पनि घट्ने छ ।’ सोलुखुम्बुको  तिलामा १३२/ ३३ र ३३/ ११ केभी सबस्टेसनको निर्माण सम्पन्न भई चार्ज भइसकेको छ । योसँगै सिराहाको लहानबाट विद्युत् लगेर त्यस क्षेत्रमा आपूर्ति हुँदै आएकोमा अब सोलु खोलामा उत्पादित विद्युत् स्थानीय रुपमा खपत गर्न प्रयोग गरिने छ । सोलुखुम्बु र आसपासका क्षेत्रका जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युतलाई सोलुखुम्बु, ओखलढुंगा र उदयपुरमा वितरण गरी बाँकी रहेको राष्ट्रिय  ग्रीडमा  जोड्न सोलु कोरिडोर प्रसारण लाइनको निर्माण भइरहेको  हो । सोलु कोरिडोर प्रसारण लाइन आयोजना निर्माणमा धेरै  ठूला समस्या  र अवरोध सृजना भएको आयोजना प्रमुख जनार्दन गौतमले बताए। सबैको सहयोग र साथमा आयोजना निर्माण सम्पन्न गर्न सफल भएको पनि उनले बताए । प्रसारण लाइन सञ्चालनमा आएपछि २३ दशमलव ५ मेगावाटको सोलु खोला जलविद्युत् आयोजना जोडिने छ । यही प्रसारण लाइन बन्ने भएपछि प्राधिकरणले त्यस क्षेत्रका १२ ओटा जलविद्युत आयोजनासँग ३२५ मेगावाट विद्युत् खरीदविक्री सम्झौता (पीपीए) गरेको छ ।   नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र भारतीय एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको ठेकेदार छनोटमा भएको विवादका कारण आयोजना झण्डै दुई वर्ष ढिला शुरु भएको थियो । प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जीसँग २०७२ को चैतमा ठेक्का सम्झौता भएको थियो ।