चैत ६, काठमाडौं। उद्योग विभागले भारतमा चर्चित रहेको एमडीएच ब्राण्डको मसलाको आयातमा रोक लगाएपछि बहुराष्ट्रिय कम्पनी अदालती प्रक्रियाको झन्झटमा फसेको छ ।
यसअघि जापाानको प्रसिद्ध पेन्टस कन्साइ नेरोल्याकको ट्रेडमार्क नेपाली कम्पनी रुकमिणी केमिकल्सले चोरेपछि कन्साइ लामो अदालती प्रक्रियाको झन्झटमा फसेको थियो । ४/५ वर्ष लामो अदालती प्रक्रियापछि कन्साइले सर्वोच्च अदालतको आदेशबाट ट्रेडमार्क फिर्ता पाएको थियो ।
अहिले फेरी अर्को प्रसिद्ध मसला ब्राण्ड एमडीएचले उद्योग विभाग र भवानी मसला उद्योगलाई विपक्षी बनाएर पाटन उच्च अदालतमा मुद्दा दायर गरिसकेको छ ।
उद्योग विभागमा ट्रेडमार्क दर्ता नभएको मौका छोपी भवानी मसला उद्योगले उक्त ट्रेडमार्क चोरी गरेको थियो । नेपालको कानून अनुसार पहिला आउनेले नै ट्रेडमार्क पाइरहेकोले भवानी मसला उद्योगले उक्त ट्रेडमार्क चोरी गरेको थियो ।
ट्रेडमार्क दर्ता गरिसकेपछि भवानी मसला उद्योगले एमडीएच मसला आयातमा रोक लगाइ पाउ भन्दै विभागमा मुद्दा हालेको थियो । विभागले गत मंसिरदेखि नै एमडीएचका सामानहरू आयातमा रोक लगाएको थियो ।
एमडीएचले पाटन उच्च अदालतमा पुनरावेदन दिएपछि चैत ६ गते पेशी तोकिएकोमा आइतवार उक्त मुद्दाको सुनुवाइ नभएको अदालतले जानकारी दिएको छ ।। उद्योग विभागका कानून शाखा प्रमुख दीपक घिमिरेले नेपालमा भवानी मसला उद्योगले एमडीएच ब्राण्डको मसला यस अघिदेखि नै विक्री वितरण गरिरहेकाले आयातमा रोक लगाउनु परेको जानकारी दिए ।
‘नेपाली कानून अनुसार उक्त ब्राण्ड पहिले भवानी मसला उद्योगले नै दर्ता गरेको पाइयो । भारतबाट आयात भइरहेको मसलाको ब्राण्ड दर्ता नभएको पाइएपछि आयातमा रोक लगाएका थियौं’', घिमिरेले भने, ‘त्यसपछि आयातकर्ताले पाटन उच्च अदालतमा मुद्दा दर्ता गरेपछि अहिले मुद्दा अदालती प्रक्रियामै रहेको छ ।’
यसअघि भवानी मसला उद्योगले आफ्नो एमडीएच ब्राण्ड चोरेर नेपालमा मसला विक्री वितरण गरिरहेको भन्दै भारतीय ब्राण्डका आयातकर्ताले उद्योग विभागमा मुद्दा दर्ता गरेको थियो । कानूनले विभागमा पहिला दर्ता भएको कम्पनीलाई चिन्ने भएकोले उद्योग विभागले नेपालमा चल्तीमा रहेको मसलाको आयातमा रोक लगाएको थियो ।
पाटन उच्च अदालतका उप-रजिष्ट्रार नगेन्द्रकेशरी पोखरेलले एमडीएच मसलाको विषयमा पुनरावेदनका लागि परेपनि टुङ्गो लागि नसकेको जानकारी दिए ।
यो पनि पढ्नुस- भारतीय मसला ब्राण्ड ‘एमडीएच’ को ट्रेडमार्क नेपाली कम्पनीको कब्जामा, सक्कली उत्पादन बेच्न रोक