कर्जा संकटमा फसेको चिनियाँ रियल इस्टेट कम्पनी एभरग्रान्डेको बैंकले गरे २ अर्ब डलर जफत

चैत १०, पेचिङ (चीन) । कर्जा संकटमा फसेको चीनको घरजग्गा कम्पनी एभरग्रान्डेको २ अर्ब डलर नगद बैंकहरुले जफ्त गरेका छन् । कम्पनीले आफ्नो वार्षिक आर्थिक प्रतिवेदन सार्वजनिक गर्न ढिलाई गर्ने घोषणा गरेपछि बैंकहरुले नगद जफ्त गरेका हुन् । कम्पनीले मार्च ३१ को समय सीमाभित्र सन् २०२१ को लागि लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न नसक्ने बताएको थियो । यो घोषणासँगै कर्जादाताहरुले तेस्रो पक्षको ग्यारेन्टीका रुपमा धितो राखिएको बैंक निक्षेपमध्ये १३ अर्ब ४० करोड युआन (२ अर्ब १० करोड) डलर दाबी गरिएको कम्पनीको एकाई इभरग्रान्डे प्रोपर्टी सर्भिसेजले भनेको छ । ती कर्जादाताहरु को हुन् भनेर कम्पनीले खुलाएको छैन । बैंकले ती निक्षेप आफ्नो नियन्त्रणमा लिएको मात्रै बताइएको छ । यस मामिलाबारे अनुसन्धान गर्न उक्त एकाईले एउटा स्वतन्त्र समिति गठन गर्दैछ । जुलाईको अन्त्यसम्ममा कर्जादाताहरुलाई कर्जा पुनःसंरचना प्रस्तावव दिने बुधबार विश्वव्यापी लगानीकर्ताहरुलाई गरिएको सम्बोधनमा कम्पनीले भनेको थियो । अहिले एभरग्रान्डेसँग २२ अर्ब ७० करोड डलर बराबरको अफशोर कर्जा छ । यसमा ऋणपत्र, परियोजना कर्जा र निजी लगानी आदि भएको कम्पनीका कार्यकारी निर्देशक सिउ शनले बताएका छन् । एभरग्रान्डे चीनको सबैभन्दा ठूलो र सबैभन्दा धेरै कर्जा भएको घरजग्गा कम्पनीमध्ये एक हो । यसको कुल ऋण ३ खर्ब येनभन्दा धेरै भएको बताइएको छ । सन् २०२० मा चीनले घरजग्गा कम्पनीहरुको अत्यधिक कर्जामा कडाई गर्न शुरु गरेृको थियो । तर बजारमा तरलता अभाव हुन थालेपछि कम्पनीको संकट बढ्न थालेको हो । पछिल्लो समय चीन सरकारले पनि एभरग्रान्डेको कर्जा पुनःसंरचनालगायत विषयमा मार्ग प्रशस्त गरिरहेको छ । तर यसका विदेशी कर्जादाताहरु धैर्य गुमाउन थालेका छन् । कम्पनीको अस्पष्ट कर्जा पुनः संरचना प्रक्रियामाथि कानूनी कदम चाल्ने भन्दै विदेशी ऋणपत्रबाहकहरुको एउटा समूहले जनवरीमा कम्पनीलाई चेतावनी नै दिएका थिए । एजेन्सी