काठमाडौं । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सरोकारवाला सबैले हातेमालो गर्नुपर्ने उद्योग परिसंघले मंगलवार आयोजना गरेको मेक इन नेपाल स्वदेशी समिटका वक्ताहरूले औंल्याएका छन् । स्वदेशी उत्पादन वृद्धिका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा जानुपर्ने धेरैको जोड रहेको छ ।
यद्यपि औद्योगिक पूर्वाधारको विकास तथा नीतिगत स्थिरतामा सरकारको भूमिका बढी हुने विज्ञहरूको धारणा छ । नेपालमा सन् १९६० को दशकदेखि नै औद्योगिक विकासको अवधारणा शुरू भए पनि पछिल्लो समयमा कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान घट्दै जानुलाई चिन्ताको विषय मान्नुपर्ने बताइएको छ । प्राकृतिक स्रोत र साधनको दृष्टिकोणले नेपाल सम्भावनायुक्त मुलुक भए पनि त्यसअनुसार लाभ लिन नसक्नुमा सरकारको कमजोरी रहेको धेरैको भनाइ छ ।
कार्यक्रममा औद्योगिक पूर्वाधार, प्राकृतिक स्रोतसाधनको सम्भाव्यतालगायत विषयमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गरी छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले स्वदेशी उत्पादन वृद्धिका लागि १० वर्षे भिजनसहित योजना बन्नुपर्ने बताए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले स्वदेशी उत्पादन १५ प्रतिशतसम्म महँगो परे पनि उपयोग गर्न दिने सरकारी नीति कार्यान्वयन हुन नसकेकाले यसमा सबैको हातेमालो र सहकार्य आवश्यक रहेको बताए ।