गाउँतिर हेर्ने कि ?

धेरै नेपाली कम्पनीहरूको बजार गतिविधि हेर्दा उनीहरूको सम्पूर्ण ध्यान काठमाडौंं र केही दुई चार ठूला नगरहरूमा मात्र केन्द्रित देखिन्छ । उनीहरूका आफ्ना उत्पादन तथा सेवाको बजार पहुँच र उनीहरूले विभिन्न मिडियामा गर्ने विज्ञापन आदिको प्रकृतिबाट पनि यो कुरा स्पष्ट देखिन्छ । नेपालको ८० प्रतिशत बजार भनेकै काठमाडौं र यिनै दुईचार ठूला शहरमात्र हुन् भन्ने सोचाइले यस्तो भएको हुनुपर्छ । के त्यस्तै हो त ?  मर्कण्टाइल कम्युनिकेसन्सका प्रबन्ध निर्देशक सञ्जीव राजभण्डारी भन्छन्, ‘काठमाडौंलाई मात्रै आफ्ना उत्पादन तथा सेवाको ७० प्रतिशतभन्दा बढी बजार ठानेर बजार योजना बनाउनु त्रुटिपूर्ण हो ।’ पक्कै पनि दुर्गममा बस्न तथा सेवा पठाउन कम्पनीलाई महँगो पर्दछ । गाउँमा बिजुली, बाटोघाटो आदि पर्याप्त छैनन् । गाउँका प्रायः मानिसहरूको क्रयशक्ति पनि शहरी ग्राहकको तुलनामा निकै कम हुन्छ । वस्तु तथा सेवाको  विषयमा जानकारी गराउने माध्यमहरू, जस्तै : पत्रपत्रिका, टीभी, होर्डिङ बोर्ड आदिको पहुँच पनि नगण्य हुन्छ । कम्पनीलई आफ्ना थोकविक्रेता तथा डीलरको सञ्जाल बढाउन पनि गाह्रो हुन्छ । अर्कातिर  शुरूमा बजार सिर्जना  गर्न थुप्रै खर्च गर्नुपर्ने हुन्छ । तर, हामीले के भुल्नुहुँदैन भने ग्रामीण जीवनस्तरमा द्रुतगतिमा परिवर्तन आइरहेको छ । बजार नीति भने त्यस अनुसार बन्ने गरेको छैन । (व्यवस्थापन कोण स्तम्भबाट) वर्ष ६, अंक ४०, सोमवार, ८ कात्तिक, २०६७