फागुन महीनाको तुलनामा चैत महीनामा नबिल इक्वीटी फण्डको एनएभी घट्यो

वैशाख १४, काठमाडौं । नबिल इक्वीटी फण्डले चैत मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको एनएभी फागुन महीनाको तुलनामा चैत महीनामा घटेको छ । फागुन मसान्तसम्ममा फण्डको एनएभी रू. १३ रहेकोमा चैत मसान्तसम्ममा रू. १२ दशमलव २१ कायम भएको छ । एनएभीसँगै फण्डको सूचीकृत धितोपत्रमा लगानी पनि घटेको छ । फागुन मसान्तसम्ममा सूचीकृत धितोपत्रमा रू. १ अर्ब २३ करोड लगानी रहेकोमा चैत मसान्त सम्ममा रू. १ अर्ब १६ करोडमा सीमित भएको हो । त्यसैगरी फण्डले नोक्सानीमा पनि वृद्धि भएको छ । फागुन मसान्तसम्ममा फण्डले रू. १२ करोड २१ लाख नोक्सानीमा रहेकोमा चैत मसान्त सम्ममा रू. २२ करोड १४ लाख पुगेको हो । चैत महिनामा फण्डको खर्चमा वृद्धि भएकाले जम्मा आम्दानी रू. १९ करोड ६२ लाख ऋणात्मक रहेकाले नोक्सानी बढेको हो । फागुन मसान्तसम्ममा फण्डको जम्मा खर्च रू. २ करोड २६ लाख रहेकोमा चैत मसान्तसम्ममा बढेर रू. २ करोड ५२ लाख पुगेको छ ।