तेलको भाउ बढेपछि साउदी अराम्कोले कमायो दोब्बरभन्दा धेरै मुनाफा, लाभांश वितरण नै ७५ अर्ब डलर

चैत ६, रियाद (साउदी अरब) । साउदी अरबको सरकारी तेल कम्पनी साउदी अराम्कोले गत वर्ष दोब्बरभन्दा धेरै मुनाफा कमाएको छ । सन् २०२१ मा कम्पनीको खूद मुनाफा १ खर्ब १० अर्ब डलर रहेको छ । यो अघिल्लो वर्षको तुलनामा १२४ प्रतिशत धेरै हो । सन् २०२० मा कम्पनीको खूद मुनाफा ४९ अर्ब डलर थियो । कच्चा तेलको भाउमा भएको वृद्धिलगायत कारणले गर्दा मुनाफा बढेको हो । मुनाफाको यो आकार अपेक्षा अनुरुपकै रहेको छ । सो अवधिमा कम्पनीको मुनाफा १ खर्ब ९ अर्ब ७० करोड डलर रहने बताइएको थियो । यो खबर सार्वजनिक भएपछि आइतबार साउदी तादाउल एक्सचेञ्जमा अराम्कोको शेयरमूल्य प्रतिकित्ता ४ प्रतिशतले बढेको थियो ।  गत वर्ष तेलको भाउमा भएको वृद्धिले अराम्कोलाई निकै लाभ मिलेको छ । ब्रेन्ट क्रुडको भाउ वर्षको अन्त्यतिर प्रतिब्यारेल ८० डलर थियो । यो १२ महीनाको अवधिमा यसको भाउ झन्डै ५० प्रतिशतले बढ्यो । रुसले युक्रेनमाथि हमला गर्नु अगाडि नै आपूर्ति अभावलगायतका कारणहरुले गर्दा तेलको भाउ बढेको थिए । आर्थिक अवस्थाहरुमा उल्लेख्य रुपमा सुधार आइसकेको भएपनि विविध सुक्ष्म आर्थिक र भू - राजनीतिका कारण अनिश्चयहरु कायम नै रहेको अराम्कोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आमिन नासेरले भनेका छन् । कम्पनीले सन् २०२१ को अन्तिम त्रैमासमा १८ अर्ब ८० करोड डलर लाभांश वितरणको घोषणा गरेको छ । योसँगै कम्पनीले सन् २०२१ को लागि बोनश शेयर बाहेक वितरण गर्ने नगद लाभांश ७५ अर्ब डलर पुग्नेछ । एजेन्सी