‘चिनियाँ राष्ट्रपतिको भ्रमण टुँडीखेलमा कार्यकर्ता उफारेजस्तो होइन’

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गराउनु टुँडीखेलमा कार्यकर्ता उफारेजस्तो नभएको टिप्पणी कूटनीतिक क्षेत्रका विज्ञहरूले गरेका छन् । आग्रह गर्दैमा भ्रमण सुनिश्चित नहुने उनीहरूको भनाइ छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गएको वैशाखमा गरेको चीन भ्रमणका क्रममा प्रायः सुनिश्चित भएको चिनियाँ राष्ट्रपति सी जिनपिनको नेपाल भ्रमण यहाँको कूटनीतिक व्यवहारले अनिश्चित बनेको छ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ समकक्षी वाङ यीसँग गत बुधबार दिउँसो भेटवार्ता गरेका बेला राष्ट्रपति सी जिनपिनको नेपाल भ्रमणका बारेमा आग्रह गरेका थिए । परराष्ट्र स्रोतका अनुसार नेपालको तर्फबाट भएका कूटनीतिक कमजोरीका कारण चिनियाँ पक्षको असन्तुष्टि ज्ञवालीको यस्तो आग्रहले साम्य हुन सक्दैन ।