भारतबाट महँगो बिजुली आयात : महसुल दर बढ्ला ?

नेपालले आज (चैत ११) गतेदेखि अहिलेसम्मकै महँगो दरमा भारतबाट विद्युत आयात थालेको छ । इन्डियन इनर्जी एक्सचेञ्ज (आइईएक्स) मा प्रतियुनिट २० भारु तिर्नेगरी गएराति १२ बजेदेखि नेपाल विद्युत प्राधिकरणले भारतबाट २०० मेगावाट बिजुली आयात थालेको हो ।कोरोना महामारी र रूस–युक्रेन युद्धका कारण कोइलाको भाउ बढेपछि भारतमा पनि बिजुलीको भाउ आकासिएको छ । अघिल्लो वर्ष मार्चमा ९० हाराहारी रहेको कोइलाको मूल्य यो मार्चमा अमेरिकी डलर ४२२ सम्म पुगेको छ । भारतमा ६० प्रतिशतभन्दा बढी विद्युत कोइला जलाएर निकालिन्छ ।