सन नेपाल लाइफको आईपीओ शुक्रवार बाँडफाँट हुने, कति जनाले पाउँछन् शेयर ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा निष्कासन गरेको आईपीओ आगामी शुक्रवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले उक्त आईपीओ शुक्रवार बिहान ८ बजे बाँडफाँट हुने जानकारी दिएको हो ।  कम्पनीको आईपीओमा १५ लाखभन्दा बढीले आवेदन दिएका छन् ।  सिडिएस एण्ड क्लियरिङ्गको अन्तिम तथ्यांक अनुसार १५ लाख ८० हजार ४९० जनाले ४ अर्ब २६ करोड ८६ लाख ४० हजार ३८० रुपैयाँ बराबरको १ करोड ७८ लाख ६० हजार ४२० कित्ताका लागि आवेदन दिएका हुन् । यस हिसावमा योग्य आवेदक ७ लाख ६८ हजार जनाले १० कित्ताका दरले आईपीओ हात पार्नेछन् । ८ लाख १२ हजार ४९० जनाको भने हात खाली हुनेछ ।  कम्पनीले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म ७६ लाख ८० हजार कित्ता आईपीओ सर्वसाधारणको लागि विक्रीमा ल्याएको थियो । जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता सर्वसाधारणमा विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले सर्वसाधारणतर्फको कुल कित्ता आईपीओमध्ये १० प्रतिशत दरको ९ लाख ६० हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा र ५ प्रतिशत दरको ४ लाख ८० हजार कित्ता सामूहिक लगानीकोषहरूमा बाँडफाँट गरिसकेको छ । प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा कम्पनीले आईपीओ विक्री गरेको हो । यीबाहेक ४ लाख ८० हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी आईपीओ सार्वजनिक निष्कासनमा ल्याइएको थियो ।