प्रभु सेलेक्ट फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन

जेठ ९, काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु सेक्लेक्ट फण्डको इकाइमा आवेदन दिने आज (आइतवार) अन्तिम दिन रहेको छ ।   कम्पनीले जेठ ५ गतेदेखि १० करोड इकाई विक्री खुला गरेको छ । यस फण्डले प्रतिइकाई रू. १० अंकित दरको कुल इकाईमध्ये ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासन गरेको हो ।  कुल इकाईमध्ये १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंकका लागि र १० लाख कित्ता योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित राखेको छ ।  यो इकाई खरीदका आइतवार बैंकिङ समयसम्म न्यूनतम १०० इकाईदेखि अधिकतम ८ करोड ५० लाख इकाईसम्मका लागि आवेदन गर्न सकिनेछ । इकाइ खरीद गर्ने ढिलो अवधि जेठ १५ गतेसम्म रहेपनि माग गरेभन्दा बढी इकाइ खरीदका लागि आवेदन परेकाले छिटो अवधिमै विक्री बन्द गरेको कम्पनीले जनकारी दिएको छ ।   इकाई निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै इकाई खरीदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका तोकिएको शाखाबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।  प्रभु क्यापिटलले यो इकाई विक्रीका लागि धितोपत्र बोर्डबाट वैशाख १३ गते अनुमति पाएको थियो । बन्दमुखी यस योजनाको अवधि ७ वर्षको रहेको छ । योजना परिपक्व भए पश्चात योजनाको कुल सम्पत्तिलाई नगदमा परिणत गरी इकाई धनीहरुलाई समानुपातिक हिसाबमा प्रचलित कानून बमोजिम बाँडफाँट गरिनेछ ।