उद्योगी व्यवसायीहरुले विद्युतीय कर प्रणालीलाई सरल बनाउन माग गरेका छन् । कर सहभागीतामा विद्युतीय प्रणालीको उपयोग र आर्थिक ऐन २०७८ ले प्रदान गरेका छुट तथा सहुलियतका विषयमा नेपाल उद्योग वाणिज्य संघ काठमाडौँ र आन्तरिक राजश्व विभागद्वारा संयुक्त रुपमा आयोजित अन्तरक्रियामा उद्योगी व्यवसायीहरुले अनलाइन कर सेवालाई सरल बनाउन सुझाव दिएका हुन् । कर प्रणालीका अनलाइन सेवाहरु चलाउन समस्या रहेको भन्दै उद्योगी व्यवसायीहरुले आर्थिक ऐन २०७८ ले प्रदान गरेको छुट तथा सहुलियतसमेत सहज रुपमा पाउन नसकिएको गुनासो गरेका छन् ।नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्षसमेत रहेका उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले उद्योगी व्यवसायीहरुले भोग्दै आएका राजश्वसँग सम्बन्धित समस्याहरु राखेका थिए । उनले कर कार्यालयको अनलाइन प्रणालीका विषयमा साक्षरता बढाउनु पर्ने आवश्यकता औल्याएका छन् । आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौड्यालले उद्योगी व्यवसायीहरुले भोग्दै आएका कर तथा राजश्व सम्बन्धि समस्याहरु समाधान गर्दै लैजाने प्रतिवद्धता जनाएका छन् । अन्तरक्रियामा जिल्ला उद्योग वाणिज्य संघ काठमाडौँका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, राजश्व सामितिका सदस्यहरु तथा विभिन्न विषयगत समितिका सदस्य तथा अन्य वस्तुगत संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।