१६ करोड अनियमितता प्रकरण : सप्तकोशी डेभलपमेन्ट बैंकका चार कर्मचारी पक्राउ

विराटनगर (अस) । करिब १६ करोड रुपैयाँ अनियमितता भएको आरोपमा प्रहरीले सप्तकोशी डेभलपमेन्टका बैंकका सीईओ नवीन सुवेदीसहित लेखा वित्त प्रमुख देवीप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापा मगरलाई पक्राउ गरेको छ । यसअघि बैंकका जीएसडी प्रमुख हिमाल भट्टराई पक्राउ परेका थिए । बैंकको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ घोटाला प्रकरणमा अहिलेसम्म चारजना पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । प्रहरीले चारैजनालाई बैंक कसुर अन्तर्गत अनुसन्धान गरिरहेको छ । राष्ट्र बैंकमा बेनामे उजुरी परेपछि बैंकभित्र भइरहेको अनियमितताबारे खुलासा भएको थियो । बैंकको कर्पोरेट कार्यालय विराटनगरमा छ । कार्यालयबाटै रेमिट्यान्सको १५ करोड ७० लाख रुपैयाँ हिनामिना भएको खुलेको थियो । यति ठूलो रकम पछिल्लो ६ वर्षयता हिनामिना हुँदा बैंक बेखबर जस्तै देखिनु र प्रमुख कार्यकारी अधिकृतकै आफन्तको खातामा अधिकांश पैसा ‘ट्रान्सफर’ भएको देखिनुले यो प्रकरणमा सीईओ लगायत उच्च अधिकारी शंकाको घेरामा परेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । बैंकको रेमिट शाखाबाट भएको यो हिनामिनामा बबिता सुवेदीको नाममा मात्रै १४ करोडभन्दा बढी रकम ‘ट्रान्सफर’ भएको नेपाल राष्ट्र बैंकमा परेको उजुरीमा उल्लेख छ । बबिता सीईओ सुवेदीकी नातेदार हु्न् । उजुरीका अनुसार सन् २०१६ देखि २०२१ अगस्ट २ तारिखसम्ममा बबिताको नाममा रहेको प्राइम बैंकको खाता नं ९९९००००१५००१५ बाट १४ करोड गैरकानूनी ढंगबाट निकालिएको छ । बविताको नाममा फर्जी खाता सीईओ सुवेदी र हाल प्रहरी नियन्त्रणमा रहेका रेमिट शाखा प्रमुख हिमाल भट्टराईले बनाएको आरोप लागेको छ । सो प्रकरणमा उनलाई जिल्ला प्रहरी मोरङले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित सामग्री

सप्तकोशी डेभलपमेन्ट बैंक घोटाला प्रकरणः सीईओसहित थप तीन जना कर्मचारी पक्राउ

विराटनगरस्थित सप्तकोशी डेभलपमेन्ट बैंक घोटला प्रकरणमा बैंकका सीईओ नवीन सुवेदीसहित थप तीन जना कर्मचारी पक्राउ परेका छन् ।

सप्तकोसी डेभलपमेन्ट बैंकको १६ करोड हिनामिना, एक कर्मचारी पक्राउ

विराटनगर- सप्तकोशी डेभलपमेन्ट बैंक विराटनगरको कर्पोरेट कार्यालयमा १६ कारोड रुपैयाँ हिनामिना भएको छ । हिनामिना गरेको ओरापमा बैंकको कर्पोरेट कार्यालयका जेनेरल सर्भिस डिपार्टमेन्ट(जिएसडी) प्रमुख हिमाल भट्टराई पक्राउसमेत परेका छन् । उनलाई पक्राउ गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  बैंककै एक …