सिँचाइ सुविधा नपुगेको स्थानमा सिँचाइ सुविधा उपलब्ध गराई कृषि उत्पादन वृद्धि गर्न काभ्रेको पाँच स्थानमा भूमिगत सिँचाइ सुविधा व्यवस्था गरिनेभएको छ । भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय काभ्रेले भूमिगत पानीको अनुसन्धान गरी डिप बोरिङमार्फत भूमिगत पानी निकाली पाँच स्थानमा एक हजार रोपनी जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने गरी काम अगाडि बढाएको छ ।
डिभिजन कार्यालय काभ्रेका हाइड्रो जियोलोजिष्ट केदार श्रेष्ठले सङ्घको ससर्त अनुदान कार्यक्रमअन्तर्गत काभ्रेको पनौती नगरपालिका–१०, मकैटार र पाँचखाल नगरपालिका–६, दुलालथोक डिप ट्युबेल सिँचाइ आयोजनाका लागि बजेट विनियोजन भएको बताउनुभयो । यसैगरी बागमती प्रदेश सरकारबाट मण्डनदेउपुर नगरपालिका–९, रानीटारमा मण्डन डिप ट्युबेल सिँचाइ, मण्डनदेउपुर कै कुन्ताबेँसीमा कुन्ताबेँसी डिप ट्युबेल सिँचाइ आयोजना र वडा नं. ११ मा भाटपोल झगरेडाँडा डिप ट्युबेल सिँचाइ आयोजनाका लागि बजेट विनियोजन भई काम भइरहेको श्रेष्ठले बताउनुभयो । श्रेष्ठले पाँचखालको दुलालथोक डिप ट्युबेल सिँचाइ आयोजनाको काम सम्पन्न भएको र पनौती मकैटार सिँचाइ आयोजनाको बोलपत्र आह्वान भएको बताउनुभयो ।