यस वर्ष कक्षा १० सम्मको नयाँ शैक्षिक सत्र असार १ गतेदेखि देशभर प्रारम्भ भएको छ । कोभिड– १९ (कोरोना) महामारीले गत वर्षदेखि नेपालमा शैक्षिक सत्र, भौतिक उपस्थितिका पठनपाठन र परीक्षामा समस्या आएको भए पनि सरकारले विद्यार्थीको शैक्षिक वर्ष खेर नजाने गरी व्यवस्थापन गरेको छ । यस वर्ष विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, नतिजा प्रकाशन, भर्नाका कार्य सम्पन्न गरेर कक्षा १० सम्मको नयाँ शैक्षिक सत्र असार १ बाट सुरु गरिएको हो । शिक्षा ऐनअनुसार विद्यालय शिक्षाको शैक्षिक सत्र हिमाली जिल्लाहरूमा कक्षा १० सम्मका लागि फागुनमा सुरु हुन्छ भने अन्य जिल्लामा वैशाखमा । कक्षा ११ र १२ को शैक्षिक सत्र मुलुकभर साउनदेखि प्रारम्भ हुँदै आएकोमा यस वर्ष कक्षा ११ को पठनपाठन भदौबाट सुरु हुनेछ । कोरोनाका कारण मुलुकका सबैजसो जिल्लामा सार्वजनिक जनजीवन निष्क्रिय रहेकाले भौतिक उपस्थितिमा गरिंदै आएको अध्ययन अध्यापन पूर्ववत् रूपमा हुन नसके पनि अधिकांश क्षेत्रमा विभिन्न विकल्पबाट कक्षाहरू निरन्तर गरिएको र सोहीबमोजिम शैक्षिक सत्र व्यवस्थापन गरिएको छ । दुई महिना ढिलो गरी सुरु भएको शैक्षिक सत्रको विद्यार्थी सिकाइमा समय अभाव नहुने गरी विशेष व्यवस्था गरिएको छ ।