मास्क अनिवार्य गर्दै सुर्खेत प्रशासन

सुर्खेत (अस) । सुर्खेतमा कोरोना संक्रमणको जोखिम बढेपछि मास्क अनिवार्य गरिएको छ । जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्रले मंगलवार गठन गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टसहितको अनुगमन टोलीले स्वास्थ्य सुरक्षा मापदण्डको अनुगमन थालेको छ । वीरेन्द्रनगर बजार क्षेत्रमा अनुगमन गर्दै टोलीले विक्रेता तथा ग्राहक, पैदल यात्रु, मोटरसाइकलमा सवार यात्रुलाई मास्क लगाउन निर्देशन दिएको छ । अनुगमनका क्रममा धेरैजसोले मास्क लगाएको पाइए पनि केहीले नलगाएको, गोजीमा राखेको पाइएको अनुगमन टोलीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले केन्द्रको निर्णय अनुसार स्वास्थ्य मापदण्ड पालना गरे÷नगरेको अनुगमन गरिने बताए । मास्क अनिवार्य प्रयोग गर्दा कोरोनाको जोखिम कम हुने भएकाले लगाउन आग्रह गर्दै उनले स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न÷गराउन सम्पूर्ण निकायसँग आग्रह गरे । टोलीले सुर्खेतस्थित ठूला होटलका स्वीमिङ पुलका साथै प्रदेश अस्पतालमा सञ्चालित कोरोनाविरुद्धको दोस्रो डोजको खोप लगाउने कार्यको पनि अनुगमन गरेको छ ।