पाटन औद्योगिक क्षेत्रमा अक्सिजन सिलिण्डर विष्फोट घटनाको छानबिन सम्पन्न

काठमाडौं (अस) । गत ८ वैशाखमा ललितपुरको पाटन औद्यागिक क्षेत्रमा अक्सिजन सिलिण्डर विष्फोट भई दुईजनाको मृत्यु भएको घटनाको छानबिन प्रतिवेदन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू समक्ष पेश गरिएको छ । घटनापछि मन्त्रालयले गठन गरेको समितिले अध्ययन गर्दै प्रतिवेदन मन्त्री बडूलाई बुझाएको हो । समितिले सोमवार मन्त्री बडूलाई बुझाएको प्रतिवेदन अनुसार विष्फोट भएको सिलिण्डर १० वर्ष पुरानो रहेको छ । त्यस्तै तोकिएको वर्किङ प्रेसरभन्दा बढी प्रेसरको अक्सिजन ग्यास भरिएको, आवश्यक परीक्षण नगरी कम चाप वहन क्षमताको पुरानो र कमजोर सिलिण्डरमा बढी प्रेसर हुँदा घटना भएको प्रतिवेदनमा औंल्याइएको छ । त्यस्तै सो सम्बन्धमा कामदारमा न्यूनतम प्राविधिक योग्यता र तालीम नभएको, उद्योग व्यवस्थापकको असावधानी, यस्तो संवेदनशील उद्योगको नियमनको मापदण्ड नहुँदा नियामक निकायको नियमित अनुगमन नहुनुजस्ता कारणले दुर्घटना भएको निष्कर्ष प्रतिवेदनले निकालेको छ । त्यस्तै समितिले आगामी दिनमा ग्यास उद्योगहरूमा यस्ता घटना दोहोरिन नदिन सबै ग्यास उद्योगले अनिवार्य रूपमा आफ्ना सिलिण्डर मात्र रिफिलिङ गर्ने, सिलिण्डर जाँच गरी गुणस्तरहीन र पुराना सिलिण्डर यथाशीघ्र डिस्पोज गर्ने लगायत सुझाव दिएको छ ।