काठमाडौं । नेपालमा रेमिट्यान्स सेवा दिँदै आएको रेमिट टू नेपालमार्फत पठाएको पैसा अब 'सजिलो पे' मोबाइल वालेटबाट झिक्न सकिने भएको छ ।
बुधवार रेमिट टू नेपालका जनरल म्यानेजर सन्तोष भेटुवाल र 'सजिलो पे'की प्रमुख कार्यकारी अधिकृत रस्मिना रञ्जितले दुई कम्पनीबीच रेमिट सेवा उपलब्ध गराउनेबारेको सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
यो सम्झौतापछि रेमिट टू नेपालमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम (रेमिट्यान्स)को भुक्तानी 'सजिलो पे' एपमार्फत पाउनेछन् । खाडी मुलुक, जापान र युरोपबाट रेमिट्यान्स कारोबार अझै सहज हुने रेमिट टू नेपालले बताएको छ ।
भेटुवालले छिटो र सुरक्षित रेमिट्यान्स सेवा उपलब्ध गराउने आफ्नो योजनामा 'सजिलो पे' वालेटसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै यसले रेमिट्यान्स सेवा झन् सजिलो हुने विश्वास व्यक्त गरे । 'छिटो र सुरक्षित रेमिट्यान्स सेवा अहिलेको आवश्यकता हो । यसमा 'सजिलो पे'ले झन् सजिलो बनाउने छ,’ उनले भने ।
त्यस्तै, 'सजिलो पे'ले सहज भुक्तानीमा काम गर्दै आएकोले रेमिट टू नेपालसँगको सहकार्यले रेमिट्यान्स भुक्तानीमा अझै सहज हुने रञ्जितले बताइन् । 'यसले विदेशमा रहेका नेपालीले पठाएको पैसा सिधै पाउने व्यक्तिको हातमा पुग्ने भएकाले आफ्ना प्रयोगकर्तालाई झनै सहज हुनेछ,’ उनले भनिन्।
'सजिलो पे'का म्यानेजर प्रविण खत्रीले युटिलिटी पेमेन्ट सेवा दिँदै आएको कम्पनीले रेमिट कम्पनीको सहकार्यमा रेमिट सेवासमेत शुरू गरेकाले यस्ता अन्य सेवा थप्दै जाने बताए । ’हामीले सेवा विस्तारको क्रममा वालेटबाट शुरू गरेर रेमिट्यान्स सेवामा पनि जोडिएका छौं । एउटै प्लेटफर्मबाट धेरै सेवा दिने हाम्रो योजना छ,’ उनले भने ।
त्यस्तै रेमिट टु नेपालका बिजनेस डेभलपमेन्ट एक्सुकेटिभ दिनेश चालिसेले आगामी दिनमा अन्य सेवामासमेत 'सजिलो पे'सँग थप सहकार्य गर्न सकिने विश्वास व्यक्त गरे ।
'सजिलो पे' युटिलिटी पेमेन्टको काम गर्दै आएको नेपालकै पहिलो धेरै भाषामा उपलब्ध डिजिटल वालेट एप हो । 'सजिलो पे’ले आफ्नो सेवाको शुरुआत डिजिटल वालेटको रूपमा गरेको छ । यसको सेवा लिन ग्राहकले 'सजिलो पे’को मोबाइल एपमा गई सामान्य व्यक्तिगत विवरणहरू भरेर दर्ता गर्नुपर्नेछ । त्यसपछि यसमा विभिन्न माध्यमहरू, जस्तै : ई बैंकिङ, मोबाइल बैंकिङ, कनेक्ट आइपीएस, विदेशबाट रेमिट्यान्स, नेपाली डेबिट/क्रेडिट कार्ड र आफ्नो बैंक खाताबाट सिधै लिङ्क गरेर यसमा पैसा जम्मा गर्न सकिनेछ।
उक्त वालेटमा पैसा जम्मा गरी जस्तै : पानी र विद्युतको महसुल भुक्तानी, नागरिक लगानी कोष र कर कार्यालयमा रकम भुक्तानी गर्न सकिनेछ । यस्तै, ट्राफिक जरिवाना, लोकसेवामा शुल्क भुक्तानी, राहदानी रकम भुक्तानी, दूरसञ्चारतर्फ (एनटीसी, एनसेल, स्मार्ट सेल) र इन्टरनेट (वर्ल्ड लिंक, सुबिसु, भायनेट, क्लासिक टेक, लूप नेटवर्क, वेब सरफर र २०+ अन्य नेट सर्भिस प्रदायकहरू)का विभिन्न सेवा लिन सकिनेछ ।