वीरगञ्ज । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष (आव) का लागि खुकुलो मौद्रिक नीति ल्याउने संकेत गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सोमबार वीरगञ्जमा आयोजित एक अन्तरक्रियामा यस्तो संकेत गरेका हुन् ।
यसअघि राष्ट्र बैंकले लिएको कसिलो मौद्रिक नीतिका कारण अर्थ मन्त्रालयको निशानामा परेका अधिकारी यस पटक भने सबैलाई सहज हुने खालको नीतिको पक्षमा उभिएका छन् । उनको नेतृत्वमा आएको नीतिले उद्योग, व्यापार र बजार खस्किएको भन्दै निजीक्षेत्र पनि असन्तुष्ट बन्दै आएको छ ।
सरकारले आगामी आवका लागि ल्याएको बजेटमार्फत लिइएको ६ प्रतिशतको आर्थिक वृद्धिदर भेट्टाउने गरी मौद्रिक नीति ल्याउने तयारीमा रहेको उनले बताए । ‘आर्थिक वृद्धिको लक्ष्य भेट्टाउने गरी नै मौद्रिक नीति ल्याउने छौं । सरोकारका सबै क्षेत्रलाई सहज हुने नीति राष्ट्र बंैकले लिन्छ,’ उनले भने ।
साउन पहिलो साता मौद्रिक नीति ल्याउने तयारी भइरहेको जानकारी अधिकारीले दिए । सोही नीतिका सन्दर्भमा सुझाव संकलनका उद्देश्यले राष्ट्र बैंकको वीरगञ्ज शाखाले आयोजना गरेको समसामयिक आर्थिक तथा बैंकिङ गतिबिधिसम्बन्धी अन्तरक्रियामा उनले विगतको कसिलो मौद्रिक नीतिकै कारण विदेशी मुद्राको सञ्चितिमा सुधार आएको दाबी पनि गरे ।
राष्ट्र बैंकले ल्याएको चालु पूँजीकर्जा मार्गदर्शन २०७९ अत्यावश्यक रहेको उनले स्पष्ट पारे । व्यवसायीहरुलाई समस्यामा पार्न नभएर कर्जा प्रथाको सुधारका लागि आएको उनको भनाइ थियो । राष्ट्र बैंक निजीक्षेत्रसँगको रचनात्मक सहकार्यका लागि सधैं तत्पर भएको बताए । वाणिज्य बैंकहरुले सोचेजस्तो कार्यकुशलता नदेखाएको भन्दै गभर्नर अधिकारीले असन्तोष पनि व्यक्त गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ व्यापार समितिका सभापति सुवोधकुमार गुप्ताले कर्जामा बैंकहरुको बढी ब्याजका कारण पूँजीको लागत बढी पर्न गएको र यसबाट सीमावर्ती क्षेत्रमा अवैध आयातले बढावा पाएको दाबी गरे । संस्थागत निक्षेपको ब्याज घटाएर भए पनि कर्जामा ब्याजको भार कम गर्नुपर्ने सुझाव उनको थियो ।
भारतीय रुपया सटहीको सीमा बढाउनुपर्ने माग वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले गरे । वाणिज्य बैंकहरुले सहज रुपमा कर्जा नदिँदा किसान । आम मानिसहरू लघुवित्त र सहकारीमा बढी ब्याज तिर्न बाध्य भएको गुनासो सहभागीहरुले गरे ।
नेपालका बैंकहरूको नाफालाई लिएर अनेक तर्क भइरहेका बेला नेपाल राष्ट्र बैंकले पनि नाफा कमाएको वासलात सार्वजनिक भएपछि अनेक टिप्पणी गरिएको पाइन्छ । नेपाल राष्ट्र बैंक नियामक निकाय भएकाले यो नाफामूलक संस्था होइन र उसले नाफाका लागि लगानी गर्न पनि पाउँदैन । यस्तोमा उसले कसरी नाफा कमायो त ?
ऋण प्रवाह गर्दा विभिन्न शर्त राख्ने र शर्तकै कारण देखाउँदै बैंकहरूले कर्जाको ब्याज बढाएकोमा आक्रोश पोख्ने समूह ठूलै पाइन्छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक वित्तीय विवरणअनुसार गत असारको विदेशी मुद्रा सञ्चितिको दाँजोमा पुस महीनामा बढेको छ । गत असारमा ४० अर्ब रिजर्भमा रहेकामा पुस मसान्तमा यो ४७ अर्बमा पुगेको छ । यसरी राष्ट्र बैंकको विदेशी रिजर्भ बढेको देखिन्छ । त्यस्तै बैंकको रिजर्भ गत असारमा ४ खर्ब २ अर्ब रहेकामा पुस मसान्तमा ४ खर्ब ५१ अर्ब पुगेको छ । यसले केन्द्रीय बैंकले नाफा कमाएको देखाउँछ । राष्ट्र बैंक नाफामूलक संस्था नभए पनि उसले स्वदेश र विदेशमा विदेशी विनिमय सञ्चितिमा राखेको हुन्छ । अहिले डलरको मूल्य बढेकाले यसको नाफा बढेको हुन सक्छ । साथै, विदेशमा राखिएको नगदको पनि उसले ब्याज प्राप्त गर्छ । राष्ट्र बैंकले सरकारी सुरक्षणमा पनि लगानी गर्छ । त्यस्तै बैंकको सामाजिक सुरक्षालगायत कार्यक्रमको रकम उसले बैंकहरूमा मुद्दती खातामा राख्छ, जसबाट उसले नाफा आर्जन गर्छ । यसरी गैरनाफामूलक संस्था भए पनि उसको खातामा नाफा बढेको देखिन्छ । तर, वाणिज्य बैंकहरूले जस्तो उसले नाफाकै लागि लगानी गरेको भने हुँदैन ।
अहिले नेपालका बैंक तथा वित्तीय संस्थाले मुनाफा कमाएको भनी आलोचना पनि हुने गरेको छ । तर, बैंकहरूले लगानीअनुसार नाफा कमाउन नसकेको पनि बलियोसँग उठेको छ । बैंकहरू पारदर्शी रूपमा सञ्चालन भएकाले नाफा देखिए पनि बैंकले जत्तिकै लगानी गरेका अन्य व्यवसायको नाफा त्यो भन्दा बढी हुने गरेको तर्क पनि चर्चामा रहेको पाइन्छ ।
खासगरी ऋण प्रवाह गर्दा विभिन्न शर्त राख्ने र शर्तकै कारण देखाउँदै बैंकहरूले कर्जाको ब्याज बढाएकोमा आक्रोश पोख्ने समूह ठूलै पाइन्छ । बैंकहरूले निक्षेपको ब्याज घटाए पनि कर्जाको ब्याज नघटाएको गुनासो छ । तर, कैयन् बैंकले मुद्दती निक्षेप संकलन यसअघि नै गरिसकेका कारण तत्काल ठूलो अन्तरले कर्जाको ब्याज घटाउँदा पनि समस्या नै पर्ने देखिन्छ । यसअवधिमा बैंकहरूले लागत बढेपछि ब्याजदर बढाउनु परेको तर्क गर्ने गरेका छन् ।
आँकडामा हेर्दा बैंकहरूको मुनाफा देखिन्छ पनि । तर, अहिले बैंकहरू निकै ठूला भएका छन् । त्यसो हुँदा उनीहरूको प्रतिशेयर आम्दानी निकै घटेको छ । कुनै बेला प्रतिशेयर ६०/७० रुपैयाँ कमाएका बैंकको कमाइ अहिले २७/२८ रुपैयाँमा झरेको छ । प्रायः सबै बैंकहरूको प्रतिशेयरका आधारमा निकै घटेको छ ।
त्यसो त नेपालका बैंकहरूले सार्वजनिक गर्ने वित्तीय विवरणमा अझ सबै कुरा खुलाउने गरिएको छैन । भारतका बैंकहरूले त्योभन्दा बढी शीर्षकमा आफ्ना लगानीबारे जानकारी दिन्छन् । नाफाको लक्ष्य कति हो भन्नेसम्म विवरण उनीहरूले सार्वजनिक गर्ने गरेका छन् । त्यसैले नेपालका बैैंकहरूलाई थप पारदर्शी बनाउन आवश्यक छ ।
अतः नेपालको केन्द्रीय बैंक तथा अन्य वाणिज्य बैंकहरूको नाफाबारे स्पष्टता आवश्यक हुन्छ । समान लगानी गरेका व्यवसायबाट मनग्यै आम्दानी हुने तर बैंकबाट हुनु हुँदैन भन्ने तर्क व्यावहारिक हुँदैन । राष्ट्र बैंकको हकमा पनि सोही अवधारणाले काम गर्नुपर्छ । तर, यसको अर्थ अन्य क्षेत्र समस्यामा परिरहँदा नाफाजति वित्तीय संस्थाले मात्र गर्नुपर्छ भन्ने हुँदैन । समाजमा एकले अर्काको अस्तित्व स्वीकार्दै र सामाजिक न्यायको सिद्धान्तअनुसार लगानी र क्षमताअनुसार लाभ लिन पाउने व्यवस्था आवश्यक छ । यसका लागि निश्चित मापदण्ड पूरा गरेर स्थापना भएका बैंक हुन् वा उद्योग व्यवसाय, पारदर्शी रूपमा सञ्चालन हुन त आवश्यक छ नै । साथै, हरेक गतिविधिलाई सार्वजनिक गर्दै लैजानु आजको आवश्यकता हो ।
साउन २५, काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब २६ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दति निक्षेपका रूपमा लगानी गर्ने भएको छ ।
आगामी भदौ १ देखि लागू हुनेगरी २०७९ भदौ १ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपका रूपमा जम्मा गर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।
निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित प्रस्ताव गर्न सक्नेछन् ।
राष्ट्र बैंकले ‘ग’ वर्गका वित्तीय संस्थाहरूमा ६ करोड ३० लाख रुपैयाँ ‘ख’ वर्गका विकास बैंकहरूमा १८ करोड ९० लाख र ‘क’ वर्गका वाणिज्य बैंकहरूमा १ अर्ब ८० लाख रुपैयाँ निक्षेप जम्मा गर्ने भएको हो ।
राष्ट्र बैंकको निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी साउन २६ गतेसम्ममा बोलकबोल पेश गनु पर्नेछ ।
यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनु पर्नेछ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष कायम हुनु पर्नेछ ।