वैशाख २६, काठमाडौं । कोभिडको जोखिमका बीच निरन्तर सेवा प्रदान गरिरहेका २७ ओटा वाणिज्य बैंकहरुले यस वर्षको ९ महीनासम्म कुल रू. ३८ खर्ब १९ अर्ब २७ करोड ९१ लाख ३५ हजार बराबरको निक्षेप संकलन गरेका छन् ।
यस वर्ष गत वर्षको तुलनामा यी बैंकहरुको निक्षेप संकलन औषतमा १३ दशमलव ४० प्रतिशतले वृद्धि भएको छ । गत वर्ष यस अवधिसम्म यी बैंकहरुले रू. ३३ खर्ब ६७ अर्ब ७९ करोड ६७ लाख २ लाख निक्षेप संकलन गरेका थिए ।
२७ मध्ये २४ ओटा बैंकहरुको यस वर्ष निक्षेप संलकन वृद्धि भएको छ भने तीन ओटा बैंकको घटको छ । नेपाल इन्भेष्टमेण्ट बैंक, नेपाल एसबिआई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको निक्षेप संकलन गत वर्षभन्दा यस वर्ष कम भएको हो ।
गत वर्ष रू. १ खर्ब ६६ अर्ब ३६ करोड २१ लाख २६ हजार निक्षेप संकलन गरेको नेपाल इन्भेष्टमेण्ट बैंकले यस वर्ष रू. १ खर्ब ६५ अर्ब ९६ करोड ७१ लाख २६ हजार मात्र निक्षेप संकलन गरेको हो ।
नेपाल इन्भेष्टमेण्ट बैंकको गत वर्षभन्दा यस वर्ष शून्य दशमलव २४ प्रतिशत कम निक्षेप संकलन भएको हो । त्यस्तै, नेपाल एसबिआई बैंकको गत वर्षभन्दा यस वर्ष निक्षेप संकलन ८ दशमलव ३९ प्रतिशत कम भएको छ । गत वर्ष रू. १ खर्ब १० अर्ब ४४ करोड ५८ लाख निक्षेप संकलन गरेको बैंकले यस वर्ष रू. १ खर्ब १ अर्ब १७ करोड ८८ लाख निक्षेप संकलन गरेको हो ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत वर्ष रू. ९५ अर्ब २ करोड ८ लाख ४१ हजार निक्षेप संकलन गरेकोमा यस वर्ष १७ दशमलव ५० प्रतिशत कम रू. ७८ अर्ब ३८ करोड ८६ लाख ५२ हजार मात्र निक्षेप संकलन गरेको छ । निक्षेप संकलनमा यसवर्ष अग्रस्थानमा एनआईसी एशिया बैंक रहेको छ ।
यस बैंकले ९ महीनामा रू.२ खर्ब ७५ अर्ब ३१ करोड ८० लाख ३५ हजार निक्षेप संकलन गरेको हो । गत वर्ष यो अवधिसम्म यस बैंकले रू. २ खर्ब १ अर्ब ६३ करोड ३ लाख ८४ हजार निक्षेप संकलन गरेको थियो । गत वर्षको तुलनामा एनआईसी एशिया बैंकको निक्षेप संकलन साढे ३६ प्रतिशत बढेको हो ।
यसवर्ष सबैभन्दा कम निक्षेप संकलन नेपाल बंगलादेश बैंकले गरेको छ । उक्त बैंकले रू. ७३ अर्ब २९ करोड १० लाख ५६ हजार निक्षेप संकलन गरेको हो । गत वर्ष यो अवधिसम्म बैंकले रू. ६६ अर्ब ४३ करोड ५० लाख ५४ हजार निक्षेप संकलन गरेको थियो । गत वर्षभन्दा यस वर्ष नेपाल बंगलादेश बैंकले १३ दशमलव ४० प्रतिशत बढी निक्षेप संकलन गरेको हो ।
तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुले संकलन गरेको निक्षेपको अवस्था :
स्रोतः सम्बन्धित बैंकहरुको वित्तीय विवरण