‘काँग्रेस र माओवादीले ५ वर्ष अघि पाएको मत जोडेर गरिने विश्लेषण पूरानो भईसक्यो’

नेकपा एमालेका प्रचार विभाग उप–प्रमुख विष्णु रिजालले २०७४ सालको स्थानीय तहको मत परिणाम अनुसार अहिलेको राजनीतिक विश्लेषण गरिनु गलत हुने बताएका छन् । नेकपा एमाले बागमती प्रदेशको प्रचार विभागले आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रचार भेलामा उप–प्रमुख रिजालले अहिले अधिकांश सञ्चार माध्यमले २०७४ सालको स्थानीय तह निर्वाचनमा काँग्रेस र माओवादीले पाएको मतलाई जोडेर एमाले कमजोर छ भन्ने खालका समाचार आउने गरेको भन्दै त्यसमा कुनै सत्यता नरहेको बताएका हुन् ।‘२०७४ सालको मत परिणाम जोडेर काम गर्दैन, त्यो विश्लेषण अब पूरानो भईसक्यो’ रिजालले भने, ‘म एउटा जिल्लाको मात्रै उदाहरण सुनाउन चाहन्छु, रौतहटको समग्र स्थानीय तहमध्ये एमालेले चन्द्रनिगाहापूरको उपमेयर मात्रै जितेको थियो, अहिले रौतहबाट एमालेमा ४ मेयर, ६ उपमेयर र ३६ जना वडाध्यक्ष हुनुहुन्छ । यो तथ्यांक त २०७४ मा एमालेले पाएको मतमा देखिँदैन, त्यसकारण २०७४ को मतपरिणाम अनुसार गरिने विश्लेषण पूरानो भईसक्यो ।’उनले १ महिनाको अवधिमा पार्टीका अध्यक्ष केपी ओलीले २८ जिल्लामा पुगेर विशाल जनसभाहरुमा सम्बोधन गरेको र हजारौँलाई एमालेमा प्रवेश गराएको पनि सुनाएका छन् । बैशाख ११ गतेसम्म अध्यक्ष ओली कुन कुन जिल्ला, कुन कुन ठाउँमा जाने र सम्बोधन गर्ने भन्ने तालिका नै रहेको पनि उनले जानकारी दिए ।