काठमाडौं । ढुवानी भाडा बढेपछि तयारी कपडाको मूल्य बढेको छ । कोरोना महामारी शुरू भएयता अन्तरराष्ट्रिय बजारमा मजदूरको पारिश्रमिक वृद्धि हुनुका साथै ढुवानी भाडा बढेपछि विदेशबाट नेपालमा आयात हुने विभिन्न ब्रान्डका तयारी कपडाको मूल्य बढेको व्यापारीहरूले बताएका छन् ।
आइतवार राष्ट्रिय व्यापारसंघले काठमाडौंमा आयोजना गरेको १७औं वार्षिक साधारणसभा तथा नवौं महाधिवेशनमा बोल्दै नेपाल हिमालय सीमापार व्यापार संघका अध्यक्ष अशोक श्रेष्ठले कोरोना महामारीका कारण चीनतर्फका तातोपानी र रसुवागढी नाकाको अवस्था व्यापारीहरूका लागि भयावहजस्तै बनेकाले ढुवानी भाडा अत्यधिक रूपमा बढेको बताए ।
उनका अनुसार रसुवागढी नाकाबाट नेपाली व्यापारीहरूले सामान अयात गर्दा चीन तर्फबाट नेपालतर्फको सिमानामा सामान ल्याई पुर्याउन २२ किलोमीटर दूरीमा प्रतिगाडी भाडादर ४ लाख ५० हजार रुपैयाँभन्दा बढी तिर्नु परेको छ । यसले गर्दा यसअघि बजारमा १ हजार रुपैयाँ पर्ने जुनसुकै तयारी कपडाको मूल्य यतिबेला १५ सय रुपैयाँभन्दा बढी पर्ने गरेको छ । ‘विगतको तुलनामा ढुवानी भाडा निक्कै बढेको छ । त्यसैले कपडाको लागत बढेको देखिन जान्छ र बजारमा कपडा महँगो दरमा बेच्नुपर्ने बाध्यता छ,’ कार्यक्रममा बोल्दै उनले भने ।
चीनतर्फका दुवै नाकामा बारम्बार समस्या देखिने भएकाले कतिपय आयातकर्ता व्यवसायीले भारतको बाटो हुँदै जहाजमा सामान आयात गर्नु परेकाले पनि भाडादर महँगो पर्ने गरेको व्यापारीहरूको भनाइ छ । यसरी सामान अयात गर्दा व्यापारीहरूले ३ देखि ४ गुनासम्म बढी भाडा तिर्नुपर्दा व्यापारीहरूका साथसाथै सर्वसाधारण उपभोक्तासमेत मारमा परिरहेका छन् ।
सामान्य अवस्थामा पानि जहाजबाट सामान आयात गर्दा प्रतिकन्टेनर भाडा २ हजार अमेरिकी डलर थियो भने हालप्रति कन्टेनर सामानको भाडा ५ हजारदेखि ६ हजार अमेरिकी डलरसम्म पर्ने गरेको व्यापारीहरू बताउँछन् । महामारीको बढ्दो प्रभावका कारण एकातर्फ बढी भाडादर तिर्नु परेको र अर्कातर्फ अर्डर गरेको सामान समयमा आइनपुग्दा व्यापारीहरू झनै प्रताडित भएको नेपाल राष्ट्रिय व्यापार संघका अध्यक्ष नरेश कटुवालले बताए ।
उनका अनुसार महामारीको प्रभावका कारण पछिल्लो २ वर्षदेखि चीनले अघोषित रूपमा नाकाबन्दी गरिरहेको छनक दिइरहेकाले जाडो मौसममा आउनुपर्ने सामान गर्मीमा र गर्मी मौसममा आउनुपर्ने सामान जाडो महीनामा आउने समस्या बढेको छ ।