काठमाडौं । पछिल्लो एक वर्षमा १४ प्रतिशत बढेको चकलेट फेरि महँगिने अनुमान गरिएको छ । चकलेट बनाउन प्रयोग हुने कोकोआको भाउ बढेपछि चकलेट महँगिने अनुमान गरिएको हो । कोकोआको आपूर्ति कसिलो भएको अवस्थामा यसको भाउ बढ्ने जानकारहरूको अनुमान छ ।
कोकोआ बजारमा उल्लेख्य मूल्य वृद्धि देखिएको छ । योसँगै लगातार दोस्रो सिजनमा पनि कोकाओको उत्पादन घटेको छ । शुक्रबार कोकोआको भाउ बढेर प्रतिमेट्रिक टन ३ हजार १६० डलरमा पुगेको थियो । यो सन् २०१६ यता (सात वर्षयता)कै उच्च हो ।
एल निनोका कारण औसतभन्दा कम वर्षा हुने भविष्यवाणी गरिएको छ । कोकोआ धेरै फल्ने पश्चिम अफ्रिकामा शक्तिशाली आँधीले पनि उत्पादनमा असर पर्ने अनुमान छ ।
विश्वको कुल कोकोआमध्ये ६० प्रतिशत कोकोआ घाना र कोट ड-भ्वारमा फल्छ । एल निनाले मध्य तथा पूर्वी उष्णकटिबंधीय प्रशान्त महासागरतर्फ सामान्य बेलाको भन्दा मौसम तातो अनि सुख्खा बनाउँछ ।
यो सिजनमा पनि कम वर्षाका कारण कोकोआको उत्पादन घटे कोकोआ फयूचर्सको भाउ प्रतिमेट्रिक टन ३ हजार ६०० माथि उक्लिने विज्ञहरूको अनुमान छ । यस्तो भयो भने चकलेटको भाउ स्वत: बढ्नेछ ।
उपभोक्ताहरू पनि धेरै मूल्य तिर्नका लागि तयार भएर बस्नु पर्ने एसएन्डपी क्ष्लोबल कमोडिटी इन्साइटका प्रमुख अनुसन्धान विश्लेषक सेर्गे चेत्चेर्ताकोभ बताउँछन् । चिनी अनि कोकोआ बटर महँगो हुँदा पनि चकलेटको भाउ प्रभावित बनेको छ । कोकोआ बटरको भाउमा हुने उतारचढावले पनि चकलेटको भाउमा थेरथोर प्रभाव पार्ने छ ।
अप्रिलमा चिनीको भाउ ११ वर्षकै उच्च स्तरमा उक्लिएको थियो । सुख्खाका कारण ऊखुबालीमा क्षति पुगेको छ । भारत, थाइल्यान्ड, मुख्यभूमि चीन र यूरोपेली संघमा आपूर्तिमा अवरोध उत्पन्न हुने चिन्ताबीच पनि सुगर फयूचर्सले टेवा पाइरहेको छ ।
यस्तोमा चकलेटको भाउ तत्कालै ओरालो लाग्ने संकेत छैन । चकलेटको माग अहिले यूरोपमा उच्च छ । माग घटेको अवस्थामा बाहेक तत्कालै चकलेटको भाउ घट्ने संकेत नभएको बारचार्टमा वरिष्ठ बजार विश्लेषक दारिन न्यूसम बताउँछन् । एजेन्सी