धरानमा खानेपानीको समस्या बढ्दै, स्थानीयद्वारा व्यवस्थापन बोर्डमै विरोध प्रदर्शन

फागुन २३, धरान । सुक्खायाम शुरु नभई धरानमा खानेपानीको अभावको समस्याले वर्षेनी उपभोक्ताहरू खानेपानीको माग गर्दै आन्दोलनमा उत्रिनु पर्ने बाध्यता रहेको छ ।  धरानको खानेपानी अभाव पूर्ती गर्न एशियाली विकास बैंकको ऋण तथा अनुदानमा परियोजना सञ्चालन गरेपनि खानेपानीको अभावविरुद्ध वर्षेनी उपभोक्ताले आन्दोलन गर्नु परेको हो । यस वर्ष पनि उपभोक्ताहरु खानेपानीको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।  खानेपानी व्यवस्थापन बोर्डले धरानमा पानीको कृत्रिम अभाव सिर्जना गरेको भन्दै वडाध्यक्षले नै आन्दोलनको नेतृत्व गरिरहेका छन् । धरानमा खानेपानीको अभाव बढ्दै गएपछि धरान–९ का वडाअध्यक्ष रत्न कटुवालको नेतृत्वमा स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।  लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका धरान–९ का बासिन्दाले आइतवार धरान–१३ मा रहेको खानेपानी व्यवस्थापन बोर्डमै पुगेर विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले अघिल्लो वर्ष पनि करीब १५ दिनसम्म दिनहुँ तत्कालिन धरान खानेपानी संस्थानको गेट अगाडी धर्ना नै दिएका थिए । सुक्खा मौसमसँगै खानेपानीका मुहान सुक्न थालेपछि धरान उपमहानगरपालिकामा खानेपानीको हाहाकार हुन थालेको हो । खानेपानीको अभाव हुन थालेपछि बोर्डले दिन बिराएर पानी वितरण गर्न थालेको थियो । दिन बिराएर पानी वितरण गर्ने भनेपनि बोर्डले भने वितरण गर्न सकेको छैन ।  तत्कालिन संस्थानलाई केही महीना अघि पूर्ण रुपमा बोर्डमा गाभिएको थियो । त्यसपछि धरानमा खानेपानी वितरण गर्ने जिम्मा बोर्डमा आएको हो । संस्थानलाई बोर्डमा गाभेपनि धरानमा पानी वितरणमा आएको समस्या समाधान हुन भने सकेको छैन ।  वितरण प्रणालीमा देखिएको समस्या पहिचान गर्न नसक्दा धरानमा पानीको अभाव हुन थालेको स्थानीय बताउँछन् । १० दिनदेखि धारामा पानी नआउँदा खानेपानी किनेर भएपनि खाइरहेका छौं तर ट्वाइलेट जान समेत पानी नहुँदा झन् आपत परेको स्थानीयको भनाइ छ ।  धरानले आज मात्रै हैन धेरै वर्षदेखि खानेपानीको समस्या भोग्दै आइरहेको छ । लामो समयदेखि समस्या आएपनि बोर्डले समाधानका उपाय खोजि गर्न नसकेको स्थानीय बताउँछन् ।  केहि दिनअघि धरान बोर्डका अध्यक्ष तथा धरान उप–महानगरपालिकाका मेयर तिलक राईले पत्रकार सम्मेलन गर्दै धरानमा भएको खानेपानीको समस्या चाडै समाधान गर्ने प्रतिवद्धता जनाएका थिए । धरानको उप निर्वाचनमा उनको घोषणा पत्र मै पहिलो एजेण्डा बनेको थियो । तर उनको प्रतिवद्धता भाषणमै मात्रै रहँदा समस्याको समाधान हुन नसकेको स्थानीयको भनाइ छ ।  धरान वडा नम्बर–९ का वडाध्यक्ष कटुवाल भन्छन्, ‘हामिले पटक पटक खानेपानीको समस्याको विषय लिएर खानेपानी व्यवस्थापन बोर्ड धाउने गरेका छौ, अब आउँछ भनेर आशा देखाएको धेरै भयो अब पनि केहि गर्न सकेन भने हामी फेरि आन्दोलन गर्न बाध्य भएका छौं ।’  यता बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले बिजुलीको समस्या हुँदा पानी वितरण गर्न समस्या रहेको बताउँछन् । उनले भने, बिजुली हुँदा हामीले पानी वितरण गरिरहेको छौं र कुनै कुनै ठाउँमा पानीको पाइप ब्लक हुने गर्छ, त्यो ब्लक हुने समस्या पनि हामी चाँडै व्यवस्थापन गर्ने तयारी गरिरहेका छौं ।’