चैते धानको सामूहिक खेती

पोखरा । कास्कीको दक्षिण क्षेत्रमा पर्ने सुरौदी खोला किनारमा चैते धान खेती प्रचलन बढेको छ । पछिल्ला वर्षहरूमा नदीजन्य वस्तु ढुंगा, गिट्टी, बालुवा जथाभावी उत्खनन बढेसँगै नदीले कटान गर्न थालेपछि यहाँका किसान चैते धानखेतीतर्फ आकर्षित देखिन्छन् । बर्खाको समयमा नदीमा बाढी जाँदा खेतीयोग्य जमीन बगरमा परिणत हुँदै गएको छ । अहिले खोलाको कुर्लिङ क्षेत्रस्थित नरपतेमा किसानको एउटा समूहले चैते धानखेती गरिरहेको छ । यहाँ बाँझो रहेको जमीनमध्ये २ सय रोपनी क्षेत्रफल जमीनमा चैते धान रोपाइँ भइरहेको छ । कतिपय स्थानमा रोपेको धान हरियो भइसकेको छ भने कतिपय गह्रामा रोप्ने क्रम जारी छ । यहाँका १२ कृषक परिवारले एउटा समूह नै बनाएर चैते धान खेती गरिरहेका छन् । विगत दुई दशकदेखि बाँझो रहेको खेतमा पछिल्ला केही वर्षयता चैते धान रोपाइँ थालिएको समूहमा आबद्धहरू बताउँछन् । ‘कृषिप्रतिको चासो घटेसँगै पछिल्ला वर्ष सुरौदी क्षेत्रमा धेरै जग्गा बाँझो बनेको छ,’ समूहका अध्यक्ष हरिप्रसाद आचार्यले भने, ‘बाँझो जग्गामा खेती गरी उत्पादन बढाउन अन्य कृषकलाई पनि अभिप्रेरित गर्ने उद्देश्यले हामी सामूहिक चैते धानखेतीतर्फ लागेका छौं ।’ कृषकको जागरुकतासँगै सामूहिक चैते धानखेतीमा पोखरा महानगरपालिका कृषि महाशाखाले पनि चासो दिएको छ । महाशाखाले धान प्रवर्द्धन कार्यक्रम अन्तर्गत किसानलाई उन्नत जातको चैते–५ र हर्दिनासे बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको छ । चैते धान खेती प्रोत्साहनका लागि आगामी दिनमा ५० प्रतिशत अनुदानमा कुटानी पिसानी मेसिन, मिनी टिलर, त्रिपाल, मिनी थ्रेसरलगायत उपकरण सहयोग गरिने महाशाखा प्रमुख मनोहर कडरियाले बताए । समूहले आगामी दिनमा व्यावसायिक तरकारीखेती गर्ने योजनासमेत बनाएको समूहका सदस्य एवं कुर्लिङ पशुपक्षी तथा कृषि फर्मका सञ्चालक चेतबहादुर महतले बताए । उनका अनुसार पछिल्ला वर्षमा यहाँ कृषक व्यावसायिक कृषिका लागि फार्म दर्ता गरी आफ्नो व्यवसायलाई व्यवस्थित गर्ने प्रयासमा जुटेका छन् । रासस