पुसको तेस्रो साता राष्ट्रिय महाअधिवेशन गर्ने तयारीमा नेपाल घरेलु तथा साना उद्योग महासंघ

कात्तिक १७, काठमाडौं । आगामी पुसको तेस्रो साता नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाअधिवेशन हुने भएको छ । आगामी पुस २२, २३ र २४ गते २५ औं महाधिवेशन तथा २२ औं महिला उद्यमी सम्मेलन सम्पन्न गर्ने महासंघले बताएकोछ । महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने छ । त्यसभन्दा अगाडि आगामी मंसिर १५ गतेसम्म प्रदेश सम्मेलन सम्पन्न गरिसक्ने महासंघले बताएको छ । महासंघको लुम्बिनी प्रदेशको अधिवेशन कार्तिक २९ गते, बाग्मती प्रदेशको अधिवेशन मंसिर १ गते र गण्डकी प्रदेशको मंसिर ७ गते आयोजना गर्ने तयारी गरिएको छ । महासंघले जिल्ला, नगर तथा पालिकास्तरमा अधिवेशन भने सम्पन्न गरिसकेको छ । महासंघद्वारा घोषित कार्यक्रम अन्तर्गत यही मंसिर २४ गते ढाका उद्यमी व्यवसायीहरुको राष्ट्रिय भेला र ३ दिने ढाका प्रदर्शनी तथा २०७९ वैशाख १५ देखि १९ गतेसम्म १६ औं अन्तरराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव आयोजना गर्ने तय गरिएको छ ।