विराटनगरमा नगरबस सञ्चालनको अनुमति  बाहिरका सीटी रिक्सालाई प्रवेश निषेध

विराटनगर । विराटनगरमा नगर बस सञ्चालन हुने भएको छ । यसअघि नगर बसको रुटको विषयमा महानगरपालिकाले रुटको परीक्षण समेत गरिसकेको छ । महानगरपालिकामा नगर बस सञ्चालनका लागि विराटनगर यातायात प्रालिले अनुमति पाएको छ ।  प्रदेश लगानी प्राधिकरणले उक्त कम्पनीलाई नगर बस सञ्चालनको अनुमति दिएको हो । नगर बस सञ्चालनका लागि एक मात्र आवेदन परेको विराटनगर यातायात प्रालिविरुद्ध कुनै उजुरी नपरेपछि कम्पनीले सञ्चालन अनुमति पाएको लगानी प्राधिकरणले बताएको छ । प्रदेश लगानी प्राधिकरणमा नगर बस सञ्चालनका लागि विराटनगर यातायात प्रालिले परियोजना बनाई निवेदन दिएको थियो । प्राधिकरणले कम्पनीको निवेदनमाथि उजुरी तथा दाबी विरोधका लागि गएको गत साउन १० गते ३० दिनको समय दिएर अन्य निजी कम्पनीहरूलाई दाबी विरोध तथा उजुरीका लागि सार्वजनिक सूचना जारी गरेको थियो । तर सो अवधिमा कसैको दाबी, विरोध र उजुरी नपरेपछि नगर बस सञ्चालनका लागि विराटनगर यातायात प्रालिलाई छनोट गरिएको प्रदेश लगानी प्राधिकरणका सूचना अधिकारी वासुदेव कुँवरले बताए । सूचना अधिकारी कुँवरले विराटनगर महानगरपालिकाले यसअघि सार्वजनिक निजी साझेदारी मोडलमा नगर बस चलाउन प्रदेश लगानी प्राधिकरणलाई पत्र पठाएर लगानीकर्ता खोज्न सहजीकरण गरिदिन आग्रह गरेको थियो । सोहीअनुसार प्राधिकरणले लगानीकर्ता खोजी गर्ने प्रक्रिया अगाडि बढाएको थियो । महानगरभित्र नगर बस सञ्चालनका लागि धेरै निजी कम्पनीले चासो देखाए पनि विराटनगर यातायात प्रालिको मात्र आवेदन परेको थियो । सोहीकारण विराटनगर यातायात प्रालि नगर बस सञ्चालनका लागि छनोटमा परेको लगानी प्राधिकरणका सूचना अधिकारी कुँवरले जानकारी दिए । उनका अनुसार सो कम्पनी ३८ करोड ९७ लाख रुपैयाँ लगानीमा बस खरीद तथा सञ्चालनका लागि तयार भएको छ । सार्वजनिक निजी साझेदारी मोडल अनुसार कुल लगानीको ३० प्रतिशत उक्त कम्पनी र ७० प्रतिशत लगानी बैंकको रहनेछ । नगर बस सञ्चालनका लागि छनोट भए पनि लगानी प्राधिकरणको मूल्यांकन समितिले परियोजनाका लागि अनुमति दिएपछि मात्र कम्पनीले काम अघि बढाउन पाउनेछ । महानगरपालिकाले रुट दिने भएपछि केही निजी कम्पनीहरूले नगर बस सञ्चालन गर्न चासो देखाएका थिए । झण्डै एक दर्जन कम्पनीले रुटको बारेमा चासो राख्दै महानगरसँग सम्पर्क गरिरहेका थिए । तीमध्ये केही कम्पनी आवश्यक पर्ने बस उपलब्ध गराउने भन्दै महानगरमा पुगेका भए पनि विराटनगर यातायात प्रालिबाहेकका अन्य कुनै पनि लगानीकर्ता तयार देखिएनन् ।