सुक्खा पहिरो खसेपछि मुग्लिन - नारायणगढ सडक दुईतर्फी  अवरुद्ध

 असार २८ , चितवन । पहिरो खसेपछि मुग्लिन - नारायणगढ सडक खण्ड दुईतर्फी अवरुद्ध भएको छ ।   ईच्छाकामना गाउँपालिका वडा नम्वर ५ अन्तर्गत चेपाङ्गडाँडामा सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार आइतवार बिहान साढे ४ बजेदेखि सुक्खा पहिरो खस्न शुरु भएको थियो  । उक्त कार्यालयका प्रमुख भगवानराज थापाले लोडरले बिहान पहिरो पन्छाउन खोज्दा थप पहिरो गएर सडकखण्ड पूर्णरुपमा अवरुद्ध बनेको हो ।  ‘साढे ४ बजे खसेको पहिरो त सानै थियो, सफा गर्न लाग्दा त झन पहाडनै बग्यो’, उनले भने ।  लोडरले हाल मुग्लिन र  नारायणगढतर्फको सडक सफा गरिरहेको छ । चेपाङ्गडाँडा कालीखोला नजिकै पर्छ । पहिरो पन्छाउन न्यूनतम तीन घण्टा लाग्ने थापाको भनाइ छ । ठूलो पहिरो खसेपछि सवारी जाम बढ्दै गएको भन्दै ट्राफिक प्रहरीले वैकल्पिक बाटोसमेत अपनाउन भनेको  छ ।