टाटाको नेक्सन इलेक्ट्रिक कारमा अचानक आगो लाग्यो, इलेक्ट्रिक गाडी कति सुरक्षित ?

नेपालमा माग बढिरहेको र निजी तथा सरकारी कार्यालयले पनि प्रयोग गरिरहेको टाटाको विद्युतीय गाडी ‘नेक्सन इभी’मा रोकिराखेकै ठाउँमा आगो लागेको छ । भारतमा नेक्सन इभीको एउटा गाडीमा अचानक आगो लागेको हो  मुम्बइमा सडक छेउमा रोकिराखेको टाटाको नेक्सान इभीमा आगलागी भएको थियो । अचानक आगलागी भएपछि पानी हालेर आगो निभाउँदै गरिएको उक्त घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । इभीमा अचानक आगो लाग्न थालपछि टाटाका गाडीको सुरक्षामाथि प्रश्न उठेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । टाटा कम्पनीले पनि उक्त घटनाको अनुसन्धान भइरहेको र हालसम्म आफ्ना गाडीमा सुरक्षालाई लिएर कुनै प्रश्न नउठेको दाबी गरेको छ । टाटाले भारतमा मात्रै ३० हजार आफ्ना इलेक्ट्रिक गाडी गुड्ने दाबी गर्दै ती ३० हजार इलेक्ट्रिक कारले ४ वर्षमा १ सय मिलियन किलोमिटर दुरी पार गरिसकेको र यो अवधिमा कुनै यस्ता घटना नभएको जनाएको छ ।मुम्बइमा सडक छेउमा पार्किङमा रहेको नेक्सन इभीमा के कारण आगोको मुस्लो निस्कियो भन्नेबारे वास्तविक कारण अहिलेसम्म पत्ता नलागेको भारतीय समाचार संस्था टाइम्स अफ इण्डियाले जनाएको छ । आगो लागेको उक्त गाडीमा ३०.२ एडब्लुएच लिथुनियम इओन ब्याट्री जडित थियो । नेपालमा पनि हालसालै नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा नेक्सन इभी किनेको छ । नेपालका लागि यसको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रा.ली. हो ।