राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको सदरमुकाम खण्ड र बलेवा विमानस्थल कालोपत्रका लागि तयारी थालिएको छ । निर्माण कम्पनीको घोषित प्रतिबद्वताअनुसार काम भए दुवै ठूला आयोजना आगामी वैशाखसम्म कालोपत्र हुनेछन् ।
मध्यपहाडी लोकमार्गको सदरमुकाम खण्डको लामो समयदेखि अलपत्र २५ किलोमिटर सडकको सन्तोषजनकरूपमा काम भइरहेको छ । बलेवा विमानस्थल पनि स्तरोन्नति भएर कालोपत्रको चरणमा छ । यसले जिल्लामा विकास, सुविधा र अवसरमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।
लामो समयदेखि कालोपत्र हुन नसकेको पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा गत मङ्सिर अन्तिम सातादेखि निर्माणले तीव्रता पाएको छ । सम्पर्कविहीन भएका निर्माण व्यवसायीले सदरमुकाम खण्डबाट घोडाबाँधेसम्म झण्डै २०० मजदुर परिचालन गरेका छन् । मध्यपहाडीको कालोपत्रका लागि आवश्यक ठूला पूर्वाधार निर्माण यसअघि नै भइसकेका थिए । सडक चौडा पार्ने, ग्यावियन भर्ने, मेसेरेनरी पर्खाल र नाली निर्माण गर्ने काम अन्तिम चरणमा छन् भने बागलुङ बजारको उपल्लाचौरदेखि कालोपत्रका लागि सब–वश बिछ्याउने कार्य शुरु गरिएको छ ।