बुटवलमा गार्डेन मार्टको शाखा

बुटबल (अस) । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बुटवलमा गार्डेन मार्टको नयाँ शाखा सञ्चालनमा ल्याएको छ । लुम्बिनी प्रदेशको व्यावसायिक हब र औद्योगिक नगरी बुटवलको योगिकुटी चोकमा सहकारीले आफ्नो २३ औं सदस्य सेवा केन्द्रसँगै गार्डेन मार्ट सञ्चालनमा ल्याएको हो । शनिबार लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षणमन्त्री सुरेन्द्रबहादुर हमालले मार्ट उद्घाटन गरे । मन्त्री हमालले प्रतिस्पर्धाले उपभोक्तालाई सहज र सुलभ मूल्यमा सामान पाउने अवस्था रहने बताउँदै यस्ता मार्ट सञ्चालनले स्थानीयलाई फाइदा पुग्ने बताए । सहकारीका प्रमुख कार्यकारी अधिकृत लीलानाथ गौतमका अनुसार बुटवलमा सञ्चालनमा आएको यो गार्डेन मार्टको १५ औं शाखा हो । भक्तपुरको कौशलटारमा मुख्य शाखा कार्यालय रहेको सहकारीले आफ्ना सदस्य र स्थानीयलाई सर्वसुलभ दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन गार्डेन मार्ट सञ्चालनको अवधारणा ल्याएको हो ।