पूर्वाधारका निर्माण कार्यले गति लिने समय शुरू हुनै लाग्दा निर्माण सामग्रीको मूल्य बढेको छ भने आवश्यक निर्माण सामग्रीको आपूर्तिमा पनि समस्या देखिएको छ । पूर्वाधार निर्माणमा हुने ढिलासुस्तीको एक कारण मानिएको निर्माण सामग्रीको आपूर्ति र मूल्यसम्बन्धी समस्या नयाँ नभएर विगतकै पद्धतिको पुनरावृत्ति भएको देखिन्छ । यद्यपि यसपटक कोइलाको आपूर्तिमा समस्या आएको र मूल्य बढेकाले सिमेन्टको भाउ बढेको देखिन्छ ।
उद्योगहरूकै कारण पूर्वाधार निर्माणमा असर पर्न गयो भने त्यसको असर उद्योगलाई पनि पर्ने भएकाले उनीहरूले मूल्यवृद्धि र आपूर्ति पक्षमा सजग हुन आवश्यक देखिन्छ ।
अहिले विश्वभरि नै कोइलाको आपूर्तिमा समस्या देखिएको छ । यही कारण व्यापक मात्रामा कोइला प्रयोग गर्ने चीन र भारतमा ठूलै समस्या देखिएको छ । त्यसैको प्रभाव नेपालमा पनि परेको देखिन्छ । सिमेन्ट उत्पादनका लागि आवश्यक कच्चा पदार्थ चुनढुंगा नेपालमा उपलब्ध छ । तर, कोइला भने भारतबाट आयात गर्ने गरिएको छ । अहिले भारत आफै कोइलाको आपूर्ति नभएर समस्यामा परिरहेको छ । यस्तोमा सिमेन्ट उद्योगले मूल्य बढाउनु अन्यथा नै हो भन्न सकिँदैन । यद्यपि कोइलाको आपूर्ति नहुँदा सिमेन्ट उद्योगहरूको उत्पादन नै बन्द हुनुपर्ने हुन सक्छ । त्यसो भएको पाइँदैन । त्यसो त कतिपयले कोइला आपूर्तिलाई सिमेन्ट उद्योगले मूल्यवृद्धिको बहाना बनाएको आरोप पनि लगाएका छन् । जेहोस्, नेपालको मागभन्दा बढी उत्पादन क्षमता भएका उद्योगहरू स्थापना भइसकेको र सिमेन्ट निर्यातको सपना देखिरहेको सन्दर्भमा यसको मूल्य बढ्नुलाई स्वाभाविक मान्न सकिँदैन । सिमेन्ट विक्री नहुँदा उधारो विक्री गर्न बाध्य उद्योगहरूले अहिले अकस्मात् मूल्य बढाइहाल्नु परेको कारण स्पष्ट पार्न सकेको देखिँदैन ।
पूर्वाधार निर्माण र नागरिकको आवास निर्माणसमेत अत्यावश्यक छडको मूल्यवृद्धि हुनुपर्ने कारण पनि यही नै हो भन्न सकिँदैन । सरकारले स्पन्ज आइरन र बिलेट आयात गरी छड उत्पादन गर्ने उद्योगहरूलाई फरकफरक कर लगाएपछि उद्योगहरूबीच सरकारी नीतिलाई लिएर विवाद छ । स्वदेशमै बिलेट उत्पादनलाई प्रोत्साहन गर्ने भन्दै सरकारले यस्ता वस्तुको आयातमा कर लगाएपछि उद्योगहरूले केही मूल्य बढाउन स्वाभाविकै देखिन्छ । तर, पत्रु फलाम प्रयोग गरेर छड बनाउने कारखानाहरूको उत्पादनमा मूल्य केही घट्ने अपेक्षा गरिए पनि उल्टै मूल्य बढेको छ । छड उत्पादक व्यवसायीहरू दुई समूहका विभाजित भई एकअर्काको विरोधमा लाग्दा उत्पादनसमेत प्रभावित भएको छ भनिन्छ । छडमा कार्टेलिङ भइरहेको निर्माण व्यवसायीहरूको आरोप छ । यदि यसो हो भने यो निकै नराम्रो हो ।
अन्तरराष्ट्रिय कारण वा सरकारी नीति जे कुराले मूल्यवृद्धि भएको भए पनि त्यसको मार पूर्वाधार निर्माणमा पर्छ नै । यसले पूर्वाधार निर्माणको लागत बढाउँछ । ठेक्का लागिकेका कामको गुणस्तर कम हुन सक्छ । त्यस्तै नागरिकहरूको आवास निर्माणमा पनि प्रभाव पर्न सक्छ ।
निर्माणको सिजनमै गिट्टीढुंगा आपूर्ति असहज हुने गरेको छ । अहिले पनि त्यस्तै भइरहेको समाचार पनि आएको पाइन्छ । यस्ता समस्याहरू बारम्बार दोहोरिँदा पनि पूर्वाधार निर्माण समयमा सम्पन्न हुन नसकेको हो । सरकारी पूर्वाधार आयोजनाहरूलाई लक्षित गरी सिमेन्ट, छड उद्योगहरूले उत्पादनको मात्रा घटबढ गर्ने गरेको समेत पाइन्छ । तर, यी उद्योगकै कारण पूर्वाधार निर्माणमा असर पर्न गयो भने त्यसको असर उद्योगलाई पनि पर्ने भएकाले उनीहरूले मूल्यवृद्धि र आपूर्ति पक्षमा सजग हुन आवश्यक देखिन्छ ।
निर्माण सामग्रीको मूल्य बढ्दा नागरिकको आवास निर्माणको काम पनि प्रभावित हुन्छ । सबै नागरिकले आवास सहजै बनाउन पाऊन् भन्ने हो भने भरपर्दो विकल्प दिनुपर्छ । अहिले परम्परागत निर्माण सामग्रीको विकल्प पनि आउन थालेको त छ मानिसहरूलाई त्यसप्रति विश्वास भने छैन । त्यस्तै नयाँ प्रविधिमा काम गर्न पर्याप्त जनशक्ति तयार भएको पनि छैन । यस्तोमा सिमेन्ट र छडको मूल्य बढ्न नदिन सरकारले त्यसअनुरूप नीतिहरू ल्याउनुपर्छ । बिजुलीको मूल्य घटाएर सिमेन्ट र डण्डीको मूल्य बढ्न नदिन सकिन्छ । यस्ता उपायमा नगए विकास निर्माणमा समस्या रहिरहने देखिन्छ ।