टिकटकमाथि अर्बौ डलरको मुद्दा

वैशाख ८, बेलायत (लन्डन) । चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटकले बेलायतमा कानूनी चुनौतीको सामना गरेको छ । बालबालिकाहरुको डेटा संकलन र प्रयोग कम्पनीले कसरी गर्छ भन्ने विषयमा बेलायतकी पूर्व बाल आयोगकी आयुक्त एनी लङ्गफिल्डले टिकटकमाथि मुद्दा दायर गर्दैछिन् । मुद्दा बेलायत र यूरोपेली संघ (ईयू) का करोडौं बालबालिकाहरुको तर्फबाट दायर गर्न लागिएको हो । मुद्दाको पक्षमा फैसला भयो भने प्रभावित बालबालिकाहरुले हजारौं डलर क्षतिपूर्ति पाउनेछन् । यो मुद्दाविरुद्धमा लड्ने टिकटकले बताएको छ । टिकटकले फोन नम्बर, भिडियो, लोकेशन र बायोमेट्रिक डेटासमेत बालबालिकाहरुको व्यक्तिगत सूचना लिने गरेको आरोप वकिलहरुको छ । उता कम्पनीले भने गोपनियता र सुरक्षा आफ्नो शीर्ष प्राथमिकता भएको र सबै प्रयोगकर्ता विशेषगरी किशोरकिशोरीलाई सुरक्षित राख्न मद्दत गर्न आफूहरुले बलियो नीति, प्रक्रिया र प्रविधि कार्यान्वयन गरेको कम्पनीको भनाइ छ । चिनियाँ बहुराष्ट्रिय इन्टरनेट कम्पनी बाइटडान्सको सहायक कम्पनी टिकटकमा विश्वभर ८० करोडभन्दा धेरै सक्रिय प्रयोगकर्ता छन् । कम्पनीले गत वर्ष अर्बौ डलर मुनाफा कमाएको थियो । कम्पनीको अधिकांश आम्दानी विज्ञापनबाट हुने गरेको छ । एजेन्सी