प्यासन इकोनोमीको विस्तारका लागि लागि जसरी बैंकहरूको अहं भूमिका रहन्छ त्यसै गरी बैंकहरूको व्यवसाय विस्तारमा पनि यसले महत्त्वपूर्ण योगदान दिन सक्छ । यसरी बैंक तथा ‘प्यासन इकोनोमी’ बीच पारस्परिक हितमा कायम हुने अन्योन्याश्रित सम्बन्धका बारेमा थप चर्चा गर्नु सान्दर्भिक नै देखिन्छ ।
विश्व वित्तीय बजारमा जसरी यसको विस्तारका लागि पहलहरू तीव्र रूपमा अगाडि बढेका छन् त्यसको आधारमा नेपाली बैंकिङ क्षेत्रले पनि निकट भविष्यमा नै प्यासन इकोनोमीको लागि सहयोगीको भूमिकामा आफूलाई प्रस्तुत गर्ने अपेक्षा गर्न सकिन्छ ।
हुन त अहिले विश्वभरि नै बैंकहरू विशेष गरी साना तथा मझौला खाले व्यवसायप्रति आफ्ना लगानी तथा व्यवसाय विस्तारमा लागिपरेका पाइन्छन् र तिनको ध्यान तीव रूपमा विस्तार भइरहेको प्यासन इकोनोमीतर्फ कम मात्रामा मात्र आकर्षित भएको देखिन्छ तापनि आगामी दिनहरूमा भने बैंकिङ क्षेत्रले यो क्षेत्रलाई प्राथमिकतामा नराखी धर पाउने देखिँदैन ।
प्यासन इकोनोमीले ओगटेको विश्वबजार क्षेत्रको बारेमा अहिलेसम्म यकिन तथ्यांक उपलब्ध नभए पनि यसका लागि प्लेटफर्म स्वरूप सफ्टवेर विकास गर्ने लन्डनको एक कम्पनी ‘डिसिपल मिडिया’ ले गरेको एक अध्ययनअनुसार विश्वमा प्यासन इकोनोमीले अढाई वर्षअगाडि नै करीब ३८.६ अर्ब अमेरिकी डलर बराबरको अंश ओगटेको थियो । ‘अफ कम’, ‘डीलोइट’, ‘फोर्ब्स’जस्ता विश्व प्रसिद्ध स्रोतहरूबाट प्राप्त सूचना तथा जानकारीका आधारमा यस्तो तथ्यांक निकालिएकाले यसलाई आधिकारिक मान्न सकिन्छ । प्यासन इकोनोमीका अपरिहार्य आठ तत्त्वमध्ये ‘प्रविधि’लाई सर्वाधिक महत्त्वपूर्ण मानिन्छ र त्यसमा पनि वित्तीय प्रविधिलाई अग्र स्थानमा लिइन्छ । वित्तीय प्रविधिको केन्द्र विन्दुमा बैंकहरू रहने हुनाले प्यासन इकोनोमीको विस्तारमा तिनको अपरिहार्य भूमिका यसै स्पष्ट झल्किन्छ ।
‘मनी डट कम’ ले गरेको एक अनुसन्धान अनुसार यूरोपमा रहेका २८ देशमध्ये बेलायत मात्र यस्तो देश हो, जहाँ १ लाख १५ हजारभन्दा बढी साना खालका यस्ता व्यवसाय ५ वर्षभन्दा बढी समयदेखि सञ्चालनमा रहेका छन् । होइन भने जर्मनी, पोल्यान्ड, पोर्चुगलजस्ता देशहरूमा त यस्ता व्यवसाय एकाध वर्ष पनि टिक्न सक्दैनन् । फ्रान्स, स्वीडेनजस्ता देशहरूमा समेत ७० प्रतिशतका हाराहारीमा मात्र यस्ता प्यासन इकोनोमी लाई प्रतिनिधित्त्व गर्ने व्यवसायहरू ५ वर्ष टिकेका रहेछन् । यसो हुनुमा ती देशमा प्यासन इकोनोमी मैत्री सर्वसुलभ बैंकिङ सेवाको अभाव पनि प्रमुख कारण रहेको बताइन्छ ।
बेलायतको अर्थतन्त्रमा भने प्यासन इकोनोमीको भूमिका देखिने गरी बढ्न थालेको प्रतीत हुन्छ । ‘न्याट वेस्ट’ले विकास गरेको ‘मेटल’ नामक प्यासन इकोनोमीलाई सहजीकरण गर्ने मोबाइल एपसँग सम्बद्ध कम्पनीको तर्फबाट ‘यु गोभ’ नामक संस्थाले गरेको एक अध्ययनअनुसार यसरी आफ्नो सोखको आधारमा आफैले सञ्चालन गर्ने स्वव्यवसायको राष्ट्रिय अर्थतन्त्र माथि कुल योगदान करीब सवा खर्ब पाउन्डको हाराहारीमा रहेको छ र सन् २०३० सम्ममा बेलायतमा करीब ५० प्रतिशत मानिसहरू यस्तै प्यासन इकोनोमीसँग आबद्ध हुनेछन् । तर, त्यहाँ पनि यी व्यवसायीमध्ये करीब ३५ प्रतिशत व्यवसायीहरू परम्परागत बैंकिङ प्रणाली र सेवासँग त्यतिविधि सन्तुष्ट छैनन् । उनीहरू बैंकहरूले आफ्नो प्यासनअनुरूपको व्यवसाय विस्तार गर्न सकारात्मक योगदान नदिएको अनुभूति गर्छन् । यसले पनि बैंकहरूले आगामी दिनहरूमा प्यासन इकोनोमी लक्षित कार्यक्रम तथा सेवासुविधा विस्तार गर्नुपर्ने बाध्यात्मक परिस्थितितर्फ इंगित गर्छ ।
शायद यस्तै परिदृश्य देखेर हुन सक्छ ‘न्याट वेस्ट’ ले ‘मेल्ट’ विकास गरेजस्तै ‘एचएसवीसी’ ले पनि प्यासन इकोनोमीलाई सहजीकारण गर्ने किसिमको मोबाइल एप ‘काइनेटिक’को विकास गरेको छ र यो क्रम बेलायतमा बढ्दो रहेको छ । यस्तै गरी ‘स्टर्लिङ’ बैंकले पनि प्यासन इकोनोमीलाई बढावा दिने उद्देश्यले ३ वर्ष अगाडि नै सञ्चालनमा ल्याएको एपमा २ वर्ष अगाडिसम्म २ लाखजति मात्र आबद्ध भएकोमा गतवर्ष उक्त संख्यामा दोबर वृद्धि भई ४ लाखभन्दा बढीले यसको उपयोग गर्न थालिसकेका छन् । र, यी सबै व्यक्तिको बैंकिङ चाहना परम्परागत बैंकिङभन्दा भिन्न प्रकारको रहेकाले पनि आगामी दिनहरूमा बैंकिङ क्षेत्र प्यासन इकोनोमीको प्रवर्द्धनमा झन् बढी अग्रसर हुने अपेक्षा गर्न सकिन्छ ।
वास्तवमा प्यासन इकोनोमीसँग आबद्ध व्यक्तिहरूका लागि बैंकिङ प्रणाली अन्य साना तथा मझौला व्यवसायीहरूको लागि भन्दा झन् बढी जरुरी पर्छ । उनीहरूको लेखा, हिसाब कितावदेखि लिएर रकमको छरितो तथा शीघ्र प्राप्ति समेतको दृष्टिले परम्परागत बैंकिङभन्दा चुस्त प्रकारको सेवा उनीहरूले खोजेका हुन्छन् । आफ्नो शोखअनुसारको आफूमा रहेको विशिष्ट प्रकारको वस्तु तथा सेवा विक्री गर्ने प्रकृतिका हुने हुनाले उनीहरू परम्परागत बैंकिङमा हुने प्रक्रियालाई झन्झटका रूपमा लिएर त्यसबाट आफूलाई मुक्त राख्ने प्रवृतिका हुन्छन् । त्यसैले उनीहरूले प्यासन इकोनोमी लक्षित विशिष्ट प्रकारका बैंकिङ सेवाहरूको अपेक्षा गर्नुलाई स्वाभाविक नै देखिन्छ्र किनभने यस्ता व्यक्तिहरूको पहिलो शर्त भनेकै उनीहरूका सेवा तथा वस्तुहरू सबै प्रकारका व्यक्तिहरूका लागि सहजै प्राप्य र पहुँचमा हुनुपर्छ । यदि बैंकिङ क्षेत्रले यो आवश्यकतालाई ध्यान नदिने हो भने प्यासन इकोनोमीले फस्टाउने अवसर प्राप्त गर्न कठिन हुन्छ । त्यसको लागि बैंकिङ क्षेत्रले माथि उल्लिखित केही बैंकहरूले विकास गरेका जस्तै डिजिटल प्लेटफर्महरू उपलब्ध गराउनु अपरिहार्य छ ।
नेपालमा पनि केही बैंकहरूले डिजिटल बैंकिङ सेवा शुरू गरेर प्यासन इकोनोमीलाई अप्रत्यक्ष रूपमा सहजीकरण गर्न शुरू गरेका छन् । कोभिडजस्तो महामारीले प्यासन इकोनोमीको विकासमा आगामी दिनहरूमा कस्तो भूमिका खेल्ने हो त्यो अहिले नै यकीन गरेर भन्न नसकिए तापनि विश्व वित्तीय बजारमा जसरी यसको विस्तारका लागि पहलहरू तीव्र मात्रामा अगाडि बढेका छन् त्यसको आधारमा नेपाली बैंकिङ क्षेत्रले पनि निकट भविष्यमा नै प्यासन इकोनोमीको लागि सहयोगीको भूमिकामा आफूलाई प्रस्तुत गर्ने अपेक्षा गर्न सकिन्छ ।
प्यासन इकोनोमीको मुख्य बाधकका रूपमा आत्मविश्वासको कमी, असफलताको भय तथा सुलभ वित्तीय सेवाको अभावजस्ता मुख्य कारणहरू देखिन्छन् र तिनलाई निराकरण गर्न पनि बैंकहरू र त्यसमा पनि डिजिटल बैंकिङकै महत्त्वपूर्ण भूमिका रहने कुरामा द्विविधा छैन । अहिले नै पनि ‘युट्युब’ ‘टिकटक’ लगायत कतिपय सामाजिक सञ्जालमार्फत आम्दानी गरिरहेका धेरै नेपालीहरूले प्यासन इकोनोमीलाई अप्रत्यक्ष रूपमा प्रोत्साहन गरिरहेका छन् र तिनको आम्दानीलाई बैंकिङ क्षेत्रले सहजताका साथ ग्रहण पनि गरिरहेको पाइन्छ ।
एक अध्ययनअनुसार अहिलेको प्रवृत्ति हेर्ने हो भने जेनेरेसन जेड (सन् १९९७ देखि २०१२ सम्म जन्मिएका) मा रहेकामध्ये करीब ५८ प्रतिशत व्यक्तिहरू आफ्नै प्रकारको शोखमा आधारित व्यवसायमा रम्न चाहन्छन् । प्यासन इकोनोमीको कार्यक्षमता मापन गर्ने विशेष गरी ५ प्रकारका सूचकलाई आधार मानिन्छ । सफलता, आम्दानी, व्यस्तता, व्यवसाय वृद्धि र सामाजिक/सामुदायिक संलग्नताजस्ता यी सूचकहरूको यथोचित विकासका लागि बैंकिङ क्षेत्रको अहं भूमिका रहने कुरामा थप व्याख्या विश्लेषण आवश्यक छैन ।
लेखक बैंकर हुन् ।