दुई उद्योगमाथि मुद्दा दायर ९७३ फर्मलाई कारबाही

हेटौंडा । गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षमा चितवनका दुई उद्योगमाथि मुद्दा दायर गरेको जानकारी दिएको छ । नापतौल यन्त्रजाँचसम्बन्धी अनुमतिपत्र नलिई आफूखुशी नापतौल यन्त्रको प्रयोग गरेको पाइएपछि उक्त मुद्दा दायर गरिएको कार्यालय प्रमुख मनीषकुमार दासले जानकारी दिए । कार्यालयले चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्म नापतौल यन्त्रको नवीकरण नगराउने ९७३ व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानमाथि कारबाही गरी जरीवानासमेत गरेको छ । सो अवधिमा ३९१ व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानलाई नापतौलसम्बन्धी नयाँ इजाजतपत्रसमेत प्रदान गरेको कार्यालयले जाकारी दिएको छ । साथै कार्यालयले सो अवधिमा ८१४ व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानको नापतौल यन्त्रको नवीकरण समेत गरेको छ । नापतौलसम्बन्धी उपरोक्त कारोबारबाट गएको आठ महीनामा कार्यालयले रू. ८० लाख २१ हजार ८५५ राजस्व संकलन गरेको छ । रौतहट, बारा, पर्सा, मकवानपुर र चितवन गरी पाँच जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले बुधवार हेटौंडामा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको अनुगमनको क्रममा प्रमुख दासले सो जानकारी दिएका हुन् । चालू आवको साउनदेखि फागुन महीनासम्ममा कार्यालयले २४ पटक एकल अनुगमन तथा २२ पटक संयुक्त अनुगमन गरेको प्रमुख दासले बताए । त्यस्तै कार्यालयले उक्त अवधिमा आफ्नो कार्यक्षेत्रमा रहेको पम्पका ६०४ नोजलको जाँच तथा ३६ ओटा ट्यांकरको भेहिकल जाँचसमेत गरेको बताइएको छ । कार्यालयले प्रत्येक शुक्रवार उद्योगको उत्पादन र नापतौल यन्त्रसम्बन्धी तालीमसमेत दिँदै आएको प्रमुख दासले जानकारी दिए । नापतौल विभागले तोकेको मापदण्डविपरीत आफूखुशी उत्पादन नगर्न समेत सचेत गराउँदै आएको छ । त्यस्तो गरेको पाइएमा रू. ५ हजारदेखि रू. १० हजारसम्म जरीवाना हुने प्रावधान रहेको सो कार्यालयले भनाइ छ । रासस