काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले आठौं संस्करणको ‘नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो’ फागुन ११ देखि १४ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएका छन् । एक्स्पोको इभेन्ट नाम ‘नेपाल बिल्डकन अन्तरराष्ट्रिय प्रदर्शनी तथा नेपाल हाउजिङ एण्ड इन्भेस्टमेन्ट एक्स्पो, नेपाल हेभी इक्वीपमेन्ट एण्ड कन्स्ट्रक्सन एक्स्पो’ रहेको छ ।
प्रदर्शनीमा विभिन्न देशका ख्यातिप्राप्त ब्राण्डका २०० भन्दा बढी स्टल रहनेछन् । निर्माण कम्पनी, डिलर, सबडिलर र विक्रेताले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादन तथा नयाँ प्रविधिको बारेमा जानकारी गराउन प्रदर्शनी कोसेढुंगा सावित हुने आयोजकको भनाइ छ । प्रदर्शनीका स्टलमा निर्माण सामग्री, निर्माण मेसिनरी, निर्माण उपकरण, आवास कम्पनी, अपार्टमेन्ट कम्पनी, प्रि–फ्याब संरचना, यूपीभीसी झ्याल ढोका उत्पादन गर्ने मेसिनरी, यूपीभीसी प्रोफाइल, आर्किटेक्चरल हार्डवेयर, बाथरूम फिटिङ्स, पाइप, टाइल तथा सेनेटरी वेयर, पावर औजार, कंक्रिट ब्लक मेसिनरी उत्पादक, मटेरियल ह्यान्डलिङ उपकरण, एल्युमिनियम कम्पोजिट प्यानल आदिको सहभागिता रहने बताइएको छ ।
प्रदर्शनीमा नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हेभी इक्वीपमेन्ट व्यवसायी महासंघ र नेपाल क्रसर तथा खानी उद्योग महासंघ सहयोगी संस्थाको भूमिकामा छन् ।
प्रदर्शनीले नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकास, पुनर्निर्माण तथा आधुनिकीकरणमा टेवा पुर्याउने विश्वास राखेको आयोजकको भनाइ छ । आयोजकका अनुसार प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, निर्माण क्षेत्रमा काम गरिरहेका आर्किटेक्ट, इन्जिनियर, कन्ट्र्याक्टर, बिल्डर तथा इन्टेरियर डिजाइनरहरूको सहभागिता रहनेछ । नेपालको निर्माण क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउन तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका नयाँ प्रविधिलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन प्रदर्शनी सहयोगी बन्ने आयोजकको अपेक्षा छ । नेपालमा उपलब्ध सामग्री तथा प्रविधिलाई विदेशी संस्थाको सामु देखाउन र नेपालमा निर्माणसम्बन्धी कार्यमा भएका प्रयोगलाई अन्तरराष्ट्रिय बजारमा चिनाउन प्रदर्शनीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकको भनाइ छ ।