काठमाडौं (अस) । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसँग सम्बन्धित दुईओटा विधेयकको प्रमाणीकरण गर्नुभएको छ । संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)बाट पारित भएको आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपतिले बुधवार प्रमाणीकरण गर्नुभएको हो ।
केपी शर्मा ओली नेतृत्वको यसअघिको सरकारले अध्यादेशमार्फत ल्याएको चालू आर्थिक वर्षको बजेट प्रतिस्थापन गर्न वर्तमान सरकारले संसद्मा प्रतिस्थापन विधेयक प्रस्तुत गरेको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच उक्त विधेयक प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित गरिएको थियो ।
बजेटसँग सम्बन्धित विधेयकहरूमध्ये विनियोजन विधेयक यसअघि नै प्रमाणीकरण भइसकेको छ । बाँकी दुई विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
आर्थिक विधेयक राजस्व संकलन र राष्ट्र ऋण उठाउने विधेयक वैदेशिक परिचालनसँग सम्बन्धित छन् । बजेटको लक्ष्यअनुसार राजस्व र वैदेशिक ऋण परिचालन गर्न यी दुई विधेयक आवश्यक पर्दछ ।
तीनओटै विधेयक प्रमाणीकरण भएसँगै अब सरकारलाई चालू आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि बाटो खुलेको छ ।