काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सञ्चालनमा ल्याउन लागेको नेप्से–३० इन्डेक्सको सम्पूर्ण तयारी पूरा भएको बताएको छ । नीतिगत, संस्थागत तथा प्रविधिमार्फत पूँजी बजारको विकास गरी लगानीकर्तालाई आधुनिक दोस्रो बजार कारोबार सुविधा उपलब्ध गराउने उद्देश्यसहित नेप्सेले नयाँ इन्डेक्स थप गर्न लागेको हो ।
नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले नेप्से–३० इन्डेक्सका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताउँदै सञ्चालक समितिको निर्णय कुरेर बसेको जानकारी दिएका छन् । यसअघि नेप्से–५० इन्डेक्स सञ्चालन गर्ने योजना बनाएको नेप्सेले सरोकारवालाहरूको सुझावका आधारमा नेप्से–३० इन्डेक्स नै सञ्चालन गर्ने निर्णयमा पुगेको पराजुलीको भनाइ छ । उनले यसै आर्थिक वर्षभित्र यो इन्डेक्स सञ्चालनमा आउने सम्भावना रहेको बताएका छन् ।
नेप्सेले नेप्से–३० इन्डेक्स सञ्चालनका लागि वैशाख २० गते सरोकारवालाहरूसँग सुझाव माग गरेको थियो । ‘नेप्सेले दीर्घकालीन महत्त्वको यस सूचकांकको गणना विधि तथा यसमा समावेशका लागि लिइने सूचीकृत संगठित संस्था छनोटको विधि पारदर्शी तथा विश्वसनीय बनाउन सरोकारवालासँग सुझाव माग गरेको थियो,’ पराजुलीले भने, ‘जेठ ५ गतेसम्म प्राप्त सुझावका आधारमा नेप्सेले नयाँ इन्डेक्स सञ्चालनको तयारी अघि बढाएको हो ।’
पराजुलीले दोस्रो बजार कारोबारलाई थप सुदृढ बनाउन सहयोग पुग्ने गरी सूचकांकहरूको विकास, सञ्चालन तथा व्यवस्थापन गर्ने उद्देश्यअनुरूप बजारमा तत्काल कारोबारयोग्य धितोपत्रलाई समावेश गरी बजार पूँजीकरण सूचकांकको रूपमा नेप्से–३० इन्डेक्स तर्जुमा गर्न लागेको बताए । उनका अनुसार यस सूचकांकले बजार कारोबार तथा उतारचढावलाई प्रतिबिम्बित गर्नुका साथै डेरिभेटिभ प्रकृतिको निश्चित अवधिको कारोबार उपकरण सञ्चालन, पोर्टफोलियो व्यवस्थापन, एक्सचेञ्ज ट्रेडेड फण्ड सञ्चालन लगायतमा सघाउ पुग्नेछ । नेप्से–३० इन्डेक्सबाट दोस्रो बजारको कारोबारमा नयाँ आयाम थपिने र लगानीकर्ताले भविष्यमा थप कारोबारयोग्य उपकरण प्राप्त गर्ने विश्वाससमेत पराजुलीको छ ।
नेप्सेले तयार पारेको नेप्से–३० इन्डेक्समा समावेशका लागि सूचीकृत संगठित संस्था (कम्पनी) छनोटका ६ ओटा आधार तय गरिएको छ । जसमा प्रतिशेयर चुक्ता मूल्यभन्दा प्रतिशेयर कितावी मूल्य बढी हुनुका साथै विगत ५ आर्थिक वर्षमध्ये पछिल्लो आर्थिक वर्षसहित कम्तीमा ३ वर्ष नाफामा रहेको हुनुपर्नेछ । यस्तै, अघिल्लो आर्थिक वर्षमा प्रतिशेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत रही सोही वर्षको वार्षिक मुद्रास्फीति दरभन्दा बढी रहेको हुनुपर्नेछ ।
यसैगरी, कम्पनीको कम्तीमा २५ प्रतिशत शेयर सर्वसाधारणमा जारी भएको वा कूल फ्रि–फ्लोट बजार पूँजीकरणमा सम्बन्धित कम्पनीको फ्रि–फ्लोट बजार पूँजीकरण एक प्रतिशतभन्दा बढी रहेको हुनुपर्नेछ । शेयरधनीको संख्या कम्तीमा २० हजार हुनुपर्नेछ भने पछिल्लो ६ महीनाको अवधिमा दैनिक औसत २५ लाख वा सोभन्दा बढी रकमको कारोबार भई दैनिक औसत ५ हजार कित्ता वा सोभन्दा बढी कित्ताको कारोबार भएको र दैनिक औसत ४० वा सोभन्दा बढी पटक कारोबार भएको हुनुपर्नेछ । यस्तै, पछिल्लो ६ महीनाको अवधिमा उपलब्ध कारोबार दिनहरूमध्ये न्यूनतम ७५ प्रतिशत दिनहरूमा कारोबार भएको हुनुपर्ने आधार नेप्सेले तय गरेको छ ।
नेप्सेले तयार पारेको नेप्से–३० इन्डेक्सको गणना विधिमा मापदण्डहरूबाट छनोट भएका कम्पनीहरूको प्रारम्भिक सूची तयार गर्ने र प्रारम्भिक सूचीमा समावेश भएका सबै सूचीकृत संगठित संस्थाहरूको फ्रि–फ्लोट बजार पूँजीकरण, पछिल्लो वर्षको प्रतिशेयर आम्दानी, कारोबार रकम, कारोबार संख्या तथा कारोबार कित्ताका आधारमा सबैलाई भार प्रदान गरी कूल भार गणना गरिनेछ ।
नेप्से–३० इन्डेक्स प्रयोजनका लागि सूचीकृत संगठित संस्थाहरूलाई बैंक, वित्तीय संस्था, लघुवित्त, बीमा, जलविद्युत, उत्पादनमुलक र व्यापार सेवा तथा अन्य गरी ६ क्षेत्रगत समूहमा विभाजन गरिनेछ । प्रत्येक समूहभित्र छुट्टाछुट्टै कम्पनीको आ–आफ्नै समूहमा कूल भार गणना गर्ने र उच्चतम भार प्राप्त गर्ने संगठित संस्थाहरूबाट ८ ओटा कम्पनी छनोट गरिनेछ । कुनै समूहमा ८ संगठित संस्थाभन्दा कम छनोट भएमा सबै संगठित संस्था छनोट गरिने नेप्सेले प्रष्ट पारेको छ ।
६ ओटा क्षेत्रगत समूहमा छनोट भएका संगठित संस्थाहरूको संख्या ३० भन्दा बढी भएमा कूल भारमा कम भार भएका कम्पनीहरूलाई हटाई ३० कम्पनी कायम गर्ने र यसरी कम्पनी हटाउँदा प्रत्येक समूहबाट कम्तीमा एक संगठित संस्था कायम गर्ने व्यवस्था नेप्सेले गरेको छ ।
क्षेत्रगत समूहमा छनोट भएका संगठित संस्थाहरूको संख्या ३० भन्दा कम भएमा प्रत्येक समूहबाट आठभन्दा बढी कम्पनी छनोट नहुने सबै कम्पनीको कूल भार गणना गर्ने र उच्चतम भार प्राप्त गर्ने कम्पनी थप गरी कम्पनीको संख्या ३० पुर्याउने व्यवस्था नेप्सेले गरेको हो ।
यो इन्डेक्स गणना गर्नका लागि आधार बजार पूँजीकरण २०७९ पुस ३० गतेको फ्रि–फ्लोट बजार पूँजीकरणलाई लिइने नेप्सेको भनाइ छ । इन्डेक्सलाई प्रत्येक वर्ष भदौको अन्तिम शुक्रवार र फागुनको अन्तिम शुक्रवार ‘रिब्यलेन्सिङ्ग’ गरी कम्पनी थपघट गरिने जानकारीसमेत नेप्सेले दिएको छ ।