कर्मकाण्डी निषेधाज्ञा

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले जारी निषेधाज्ञा १० दिनका लागि थपेका छन् भने यसलाई केही खुकुलो पनि बनाएका छन् । निषेधाज्ञा शुरू हुँदा लगाइएका धेरैजसो प्रतिबन्ध हटेर केही क्षेत्रमात्र बन्द गरिँदा यसलाई निषेधाज्ञा भन्नुको औचित्य नै नरहेको अवस्था छ । नयाँ सरकार गठन भएको र उसले कोरोना नियन्त्रणलाई उच्च प्राथमिकता राखेकामा नयाँ सोच र रणनीतिअनुसार अघि बढ्नुपर्नेमा निषेधाज्ञाको जारी गर्ने औपचारिकतामात्रै पूरा गरेको देखिएको छ । अहिले अत्यधिक क्षेत्र खुला भइसकेका छन् । यस्तोमा निषेधाज्ञा जारी भनेर निर्णय गर्दा अन्तरराष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश जाँदैन । केही क्षेत्रमात्र प्रतिबन्धित भएकाले निषेधाज्ञा हटाइएको उद्घोष गर्नु बढी लाभदायी हुन सक्छ । नेपालमा कोरोनाको दोस्रो लहर शुरू भएसँगै वैशाख १६ गतेबाट शुरू गरिएको निषेधाज्ञाले व्यापार व्यवसाय ठप्प पार्‍यो । तर, असार लागेपछि यसलाई निकै खुकुलो बनाउँदै आइएको छ तैपनि व्यापार व्यवसाय पूर्ववत् अवस्थामा सञ्चालनमा आउन सकेका छैनन् । सरकारले व्यवसाय नबिथोलिने गरी निषेधाज्ञा जारी गर्ने भने पनि व्यवसाय बिथोथिएको छ, आमनागरिकको आय घट्न गएको छ । त्यसको चक्रीय प्रभावबाट बजारमा माग र आपूर्ति दुवै प्रभावित भएका छन् । तर, यी पक्षलाई सम्बोधन गर्ने तथा अर्थतन्त्रलाई पुनर्जीवन दिने खालका कार्यक्रम आउन सकेको छैन । अघिल्लो हप्ता ‘स्मार्ट लकडाउन’ गर्ने भनिए पनि पुरानै ढर्रालाई नियमितता दिइयो । बिहीवार थपिएको निषेधाज्ञा पनि त्यही पुरानै ढर्राको नियमितता भएको देखिन्छ । निषेधाज्ञा जारी गर्नुको अर्थ मानिसको आवतजावत कम गरी संक्रमण फैलन नदिनु हो । तर, अहिले खुला गरिएका क्षेत्रहरूमा कोरोना रोकथामका लागि बनाइएका शर्त र मापदण्डहरू कत्तिको पालना भएका छन् भनेर खासै हेरिएको छैन । केही ठाउँमा प्रहरी परिचालन गरेको जस्तो देखिए पनि त्यो प्रभावकारी छँदै छैन । खासमा जजसले जेजे व्यवसाय गरेका छन् ती क्षेत्रमा नै मापदण्ड पालनामा कडाइ हुनुपर्ने हो । सरकारले मापदण्ड पालना नगर्ने व्यवसायहरूलाई सचेत पार्नुपर्ने हो । तर, प्रतिबन्धको नियमन र निरीक्षण भएको छैन भन्दा हुन्छ । प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको निर्णय गर्न दिनु नै गलत नीति थियो । स्थानीय तहहरूलाई नै यसमा सक्रिय पारेको भए शायद परिणाम अलि फरक आउँथ्यो होला । तर, स्थानीय तह राम्ररी परिचालित हुन नपाउ“दा पनि कोराना रोकथाम प्रभावकारी बन्न नसकेको देखिन्छ । विगत हप्ताको संक्रमणको दर हेर्दा यसको नियन्त्रणमा कुनै पनि सफलता प्राप्त भएको छैन भन्ने देखिन्छ । संक्रमण दर अहिले पनि उच्च नै देखिन्छ । परीक्षण घटेकाले संख्या घटे पनि संक्रमण प्रतिशत भने २० प्रतिशतको हाराहारीबाट तल ओर्लन सकेको छैन । अन्य देशको प्रवृत्ति हेर्दा यति लामो समयसम्म संक्रमण प्रतिशत नियन्त्रणमा नआउनु चिन्ताको विषय हो । अहिले सरकारसँग कोरोनाको भ्याक्सिनको अभाव देखिँदैन । चीनबाट खरीद गरिएको भेरोसेल भण्डारण गर्न ठाउँ नपुग्ने आकलन गरिइरहेका बेला व्यापक परिमाणमा खोप केन्द्र सञ्चालन गर्न सक्नुपर्थ्यो । सीमित केन्द्रमा मात्रै खोप लगाउने व्यवस्था हुँदा नागरिकहरूले निकै सास्ती भोगिरहेका छन् भने लक्षित वर्गले खोप नपाएको अवस्था पनि छ । पहुँच पुगेका वर्गले खोप सजिलै पाइरहेका छन् । त्यस्तै खोप केन्द्रमा अत्यधिक भीड हुँदा त्यहीँबाट संक्रमण फैलने आशंका जनस्वास्थ्यविद्हरूले गरिरहेका छन् । त्यसैले निषेधाज्ञाको निर्णय गरिरहनुभन्दा केन्द्र, प्रदेश र स्थानीय सरकारको समन्वयमा खोप वितरण कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेमा लाग्नु बढी उपयुक्त देखिन्छ   अहिले अत्यधिक क्षेत्र खुला भइसकेका छन् । यस्तोमा निषेधाज्ञा जारी भनेर निर्णय गर्दा अन्तरराष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश जाँदैन । केही क्षेत्रमात्र प्रतिबन्धित भएकाले निषेधाज्ञा हटाइएको उद्घोष गर्नु बढी लाभदायी हुन सक्छ । निषेधाज्ञा हटाए पनि केही क्षेत्रमा प्रतिबन्ध लगाउन समस्या छैन । त्यसैले सरकारले निषेधाज्ञा तुरुन्तै हटाउनुपर्छ । साथै, कोरोनासम्बन्धी मापदण्डहरू पालना भए नभएको अनुगमन गरी सचेत पार्ने तथा आवश्यक परे कारबाही गर्ने नीति अवलम्बन गरिनुपर्छ । 

सम्बन्धित सामग्री

राति ८ बजेपछि सवारी सञ्चालनमा रोक

काठमाडौं । काठमाडौं उपत्यकामा राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउँदै भदौ ८ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । मंगलवार बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को बैठकले बिहीवारदेखि लागू हुने गरी उपत्यकाको निषेधाज्ञा थप गरेको हो । बैठकले यसअघिको निषेधाज्ञालाई निरन्तरता दिँदै रातिको समयमा सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो । काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीले पसल तथा व्यवसाय साँझ ७ बजेसम्म सञ्चालन गर्न पाउने र भीडभाडका क्षेत्र सञ्चालनमा प्रतिबन्ध लगाई निषेधाज्ञा थप गरिएको जानकारी दिए । उनका अनुसार सबै प्रकारका सभा, गोष्ठी, पार्टी प्यालेस, जीम, डान्सबार, खेलकुद, क्लब, स्वीमिङ पुल, मनोरञ्जनका क्षेत्र आदि सञ्चालनमा रोक यथावत् राखिएको छ । धार्मिक स्थल पनि पुजारीले नित्यकर्म गर्न पाउने गरी मात्रै खुला गर्न पाउने निर्णय गरिएकोमा एउटा कोठामा २५ जनासम्म मात्रै विद्यार्थी राखेर परीक्षा सञ्चालन गर्न निर्देशन गरिएको छ । कोभिडको संक्रमण बढ्दै गएकोमा स्वास्थ्य मापदण्ड अनिवार्य गरिएको बताउँदै प्रजिअ पराजुलीले मास्क नलगाउने र प्रतिबन्धित क्रियाकलाप गर्नेलाई कारबाही गरिने बताए । हाल बन्दाबन्दी खुलेसरह भए तापनि उपत्यकाका प्रजिअहरूले निषेधाज्ञालाई यथावत् रूपमा थप गरिरहेका छन् । स्वास्थ्यविद्ले भने यसलाई कर्मकाण्डी निषेधाज्ञा मात्रै भएकाले यसले संक्रमण नरोकिने बताएका छन् । राति ८ बजेपछि सवारी सञ्चालनमा रोक लगाउनुलाई कर्मकाण्डजस्तै भएको टिप्पणी गर्दै स्वास्थ्यविद् समीरमान दीक्षितले यो आपूmले महामारीका बेला केही गरेको देखाउनका लागि मात्रै गरेजस्तो भएको बताएका छन् । ‘अर्थतन्त्रदेखि सबै क्षेत्रलाई बन्दाबन्दीले नराम्रोसँग हिर्काएकाले अब निषेधाज्ञा विकल्प त होइन, गर्नु हुँदैन,’ उनले भने, ‘निषेधाज्ञाको निर्णय केही गरेको जस्तो देखाउनका लागि मात्रै भइरहेकोमा यसले संक्रमण रोक्दैन ।’ उनले बन्दाबन्दी खुकुलो बनाउँदै कडाइका साथ स्वास्थ्य मापदण्ड पालना गरी सबैलाई खोप दिनु नै अबको विकल्प भएको बताए । पछिल्लो समय कोभिडको संक्रमण बढ्दै गएकोमा अस्पतालहरू भरिन थालेका छन् । मंगलवार २४ घण्टाको अवधिमा थप ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएकोमा थप ३५ जनाको कोभिडका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कोभिडको नयाँ भेरियन्टबाट सबैभन्दा बढी २१ देखि ४० वर्ष उमेरसमूह प्रभावित भएका छन् । मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मंगलवार गरिएको परीक्षणका क्रममा मात्रै ३१ प्रतिशत संक्रमण यो उमेरसमूहका व्यक्तिमा देखिएको हो । हाल नेपालमा ३७ हजार ३३२ संक्रिय कोरोना संक्रमित रहेको जानकारी उनले दिए ।