महिलालाई उद्यमशील बनाइँदै

मोरङमा सञ्चालित केही सहकारी संस्थाले महिलालाई उद्यमशीलतर्फ आकर्षित गर्न थालेका छन् । यसै क्रममा मोरङको धनपालथान गाउँपालिका–४ कर्सियास्थित उमा–गौरी कृषि सहकारीले पाँचसय महिला उद्यमीलाई ब्याज अनुदानमा कर्जा प्रवाह गर्ने योजना अगाडि सारेको छ । विपन्न वर्ग कार्यक्रमअन्तर्गत नबिल बैंकसँगको सहकार्यमा महिला उद्यमशीलता कर्जा प्रवाह गरिने भएको हो । सहकारीमार्फत ४ प्रतिशत ब्याजमा एकलाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराइने अध्यक्ष शम्भुप्रसाद रौनियारले जानकारी दिए । कर्जा प्रवाहका लागि नबिल बैंकको प्रादेशिक कार्यालयसँग सम्झौता भइसकेको छ ।