पहिरो पीडित बस्तीमा प्रदेश सभाका उपसभामुख, हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी

दार्चुलाको बाढी पहिरो प्रभावित दुहुँ गाउँपालिका र तुइन हटाएपछि खाद्यान्न अभाव सिर्जना भएको व्यास गाउँपालिकामा नेपाली सेनाको हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गरिएको छ । भदौ १३ गते राती आएको बाढी र पहिरोबाट पीडित बनेका दुहुँका नागरिक र माल घट्नापछि खाद्यान्न अभाव भएको व्यास–२ माल, कोठेरधार र खाङदाङका बस्तीका लागी सेनाको हेलिकोप्टरले खाद्यान्न ढुवानी गरेको हो । बाढी, पहिरोका कारण क्षतविक्षत बनेको दुहुँ गाउँपालिका र समस्यामा परेका त्यहाँका नागरिकका लागि अहिले सरकारी, गैरसरकारी र व्यक्तिगत पहलमा विभिन्न क्षेत्रबाट राहत संकलन तथा वितरण भइरहेको छ । सुदूरपश्चिम प्रदेश सभाका उपसभामुख निर्मला बडाल जोशी, पूर्व सभासद एवं नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सह–इन्चार्ज लक्ष्मणदत्त जोशी सहितको टोली बाढी पहिरो पीडितका कुरा सुन्न र राहतका लागि पहल गर्न बाढी, पहिरो प्रभावित क्षेत्रमा जानुभएको छ । गाउँगाउँमा दर्जनौँ पहिरो गएर दुहुँवासी बिचल्लीमा परेको भन्दै पीडितको अवस्था बुझ्नका लागि आफूहरू पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा आएको उपसभामुख जोशीले बताउनुभयो ।